काठमाडौँ: नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्रानसहितको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो।
कम्पनीले प्रदान गरेको १ करोड ५१ लाख रुपैयाँ बराबरको चेक कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले एक विशेष कार्यक्रमबीच अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
भोटेकोशी र त्रिशूली नदीमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले उद्धार तथा राहत कार्यमा जुट्न आफ्ना कर्मचारी र अभिकर्ताहरूलाई आग्रह गरेको छ।