२०८३ कार्तिक १५ गते शनिवार

राष्ट्र बैंकको सहायक निर्देशक नतिजामा फेरबदल: लोक सेवा आयोगमाथि गम्भीर प्रश्न

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, भदौ १९
nrb-loksewa

काठमाडौँः नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा संशोधन भएपछि लोक सेवा आयोगको परीक्षा प्रणाली र नतिजा प्रकाशन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ।

एक परीक्षार्थीले पुनर्योगका लागि दिएको निवेदनपछि प्रकाशित संशोधित नतिजामा अन्य परीक्षार्थीसमेत थपिनु र यसअघि उत्तीर्ण सूचीमा रहेकी एक परीक्षार्थी हट्नुले परीक्षा प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठेको हो।

आयोगले राष्ट्र बैंकका लागि विज्ञापन नम्बर १५/२०८२ अन्तर्गत लिएको सहायक निर्देशक (अधिकृत तृतीय श्रेणी) पदको लिखित परीक्षाको प्रारम्भिक नतिजा २०८३ साउन २९ गते सार्वजनिक गरेको थियो। त्यसपछि आयोगले २०८३ भदौ १८ गते संशोधित नतिजा प्रकाशित गरेको छ।

संशोधित नतिजापछि परीक्षार्थीहरूले एक जनाको पुनर्योग निवेदनका आधारमा भएको भनिएको नतिजा संशोधनमा अन्य उम्मेदवारको नतिजा कसरी परिवर्तन भयो भन्ने प्रश्न उठाएका छन्।

एकजनाको पुनर्योग, अरूको पनि नतिजा परिवर्तन

राष्ट्र बैंक स्रोतले उपलब्ध गराएको विवरणअनुसार एक जना परिक्षार्थीले आफ्नो प्राप्ताङकमा चित्त नबुझाइ पुनर्योगका लागि निवेदन दिएका थिए। सोही प्रक्रियापछि नतिजा संशोधन गरिएको थियो।

तर, संशोधित नतिजामा २ जना महिलासमेत उत्तीर्ण सूचीमा देखिएपछि प्रश्न उठेको छ।

राष्ट्र बैंकका केही पदाधिकारीहरूले समेत यस विषयमा चासो व्यक्त गरेका छन्। यदि पुनर्योगका लागि निवेदन एकजनाले मात्र दिएका थिए भने अन्य उम्मेदवारको नतिजा कुन प्रक्रियाबाट पुनः परीक्षण गरियो? के आयोगले त्यसक्रममा अन्य उत्तरपुस्तिका वा प्राप्ताङकमासमेत पुनः जाँच गरेको थियो?

यस विषयमा आयोगले स्पष्ट र विस्तृत जानकारी सार्वजनिक गर्नुपर्ने सरोकारवालाहरूको माग छ।

पहिले उत्तीर्ण, संशोधित नतिजामा नाम गायब

यस प्रकरणको अर्को महत्वपूर्ण पक्ष एक महिला परिक्षार्थीको नतिजासँग सम्बन्धित छ। प्रारम्भिक नतिजामा उनी उत्तीर्ण सूचीमा देखिएकी थिइन्। तर, संशोधित नतिजा सार्वजनिक हुँदा उनको नाम सूचीमा छैन।

यसले एक पटक उत्तीर्ण घोषित उम्मेदवारलाई संशोधित नतिजामा हटाउनुको आधार के हो भन्ने अर्को गम्भीर प्रश्न खडा गरेको छ। राष्ट्र बैंकका एक पदाधिकारीले भने, ‘यदि प्राप्ताङ्क प्रविष्टि, गणना वा उत्तरपुस्तिका परीक्षणमा त्रुटि भएको हो भने त्यसको प्रकृति के थियो? र उक्त त्रुटि कसरी पत्ता लाग्यो?’

परीक्षार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले आयोगले यसबारे स्पष्ट कारण सार्वजनिक गर्नुपर्ने माग राष्ट्र बैंकका पदाधिकारीहरूको छ।

उत्तीर्णको संख्यामा पनि परिवर्तन

प्रारम्भिक र संशोधित नतिजाको तुलना गर्दा उत्तीर्ण परीक्षार्थीको संख्यामा पनि परिवर्तन देखिएको छ। खुलातर्फ प्रारम्भिक नतिजामा ३१ जना उत्तीर्ण भएकोमा संशोधित नतिजामा संख्या बढेर ३२ जना पुगेको छ। त्यसैगरी महिलातर्फ २० जनाबाट बढेर २१ जना पुगेका छन्।

आदिवासी/जनजाति र मधेसी समूहको संख्या भने यथावत रहेको देखिन्छ।यसरी केही समूहतर्फ संख्या बढ्नु र प्रारम्भिक नतिजामा रहेका उम्मेदवारको नाम हट्नुले संशोधन प्रक्रियाको सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ।

के थियो प्राविधिक वा मानवीय त्रुटि?

परीक्षाको नतिजा प्रकाशन प्रक्रिया र त्यसपछि गरिएको संशोधनलाई लिएर सुरुमा विभिन्न प्रश्न उठे पनि लोक सेवा आयोगले भने यसमा मानवीय त्रुटि भएको जनाएको छ।

लोक सेवा आयोगका प्रवक्ता पुरुषोत्तम शर्माका अनुसार एक परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएपछि पुनः जाँच गर्ने क्रममा यसअघि भएको मानवीय त्रुटि पत्ता लागेको थियो। त्यसपछि सबै विवरण सच्याएर संशोधित नतिजा प्रकाशित गरिएको उनले बताए।

‘एक जना परीक्षार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। उनको पुनर्योग गर्ने क्रममा हामीलाई अगाडि भएको मानवीय गल्ती थाहा भयो। त्यसपछि हामीले सबै सच्याएर नतिजा सार्वजनिक गरेका हौँ,’ शर्माले नेपाल क्लिक्ससँग भने।उनका अनुसार यस्तो प्रकृतिको मानवीय त्रुटि विरलै हुने गरेको छ।

‘यस्ता घटना दुर्लभ हुन्छन्। यस्तै गल्ती सच्याउनकै लागि हामीले रिटोटलिङ अर्थात् पुनर्योगको व्यवस्था गरेका हौँ,’ उनले भने।पुनर्योगको क्रममा त्रुटि पत्ता लागेपछि आवश्यकताअनुसार सम्बन्धित परीक्षार्थीहरूको नतिजासमेत पुनः जाँच गर्ने गरिएको शर्माले बताए।

उनका अनुसार हाल प्रकाशित संशोधित नतिजा नै अन्तिम हो र अब यसमा थप परिवर्तन हुने छैन।

पारदर्शिताको प्रश्न भने कायमै

आयोगको परीक्षा हजारौँ युवाको भविष्य र सार्वजनिक संस्थामाथिको विश्वाससँग जोडिएको हुन्छ। त्यसैले नतिजा संशोधन हुनु आफैँमा अस्वाभाविक नहुन सक्छ। तर, संशोधनबाट उम्मेदवारको उत्तीर्ण वा अनुत्तीर्ण अवस्थासमेत परिवर्तन हुँदा त्यसको कारण, प्रक्रिया र आधारबारे स्पष्ट जानकारी सार्वजनिक हुनु आवश्यक देखिन्छ।

आयोगले मानवीय त्रुटिका कारण नतिजा संशोधन गर्नुपरेको स्पष्ट पारे पनि, एक परीक्षार्थीको पुनर्योगबाट सुरु भएको प्रक्रियामा अन्य उम्मेदवारको नतिजा कसरी परिवर्तन भयो भन्ने विषयले परीक्षा प्रणालीको विश्वसनीयता र आन्तरिक जाँच प्रक्रियामाथि प्रश्न उठाएको छ।

अब आयोगले त्रुटि कहाँ र कसरी भयो भन्ने विषयमा थप स्पष्टता दिएमा परीक्षार्थीहरूबीच देखिएको अन्योल र संशय हटाउन सहयोग पुग्ने देखिन्छ।

प्रकाशित: २०८३ भदौ १९ गते शुक्रबार ११:५२
प्रतिक्रिया

थप समाचार

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सुदूरपश्चिममा बैंकको ऋण लगानी कैलाली र कञ्चनपुरमा केन्द्रीत, अन्य ७ जिल्लामा न्यून

काठमाडौँः सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह सुस्त रहेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अध्ययन प्रतिवेदनअनुसार प्रदेशमा बैंक तथा वित्तीय...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना