काठमाडौँः एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १५ प्रतिशत लाभांश पारित गर्न ३२औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंक सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले आगामी असोज १४ गते बिहान १० बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा साधारणसभा गर्ने निर्णय गरेको हो।
बैंकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन्।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते एक दिन बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज १ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
साधारणसभाले वित्तीय विवरण, सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्तावमाथि समेत निर्णय गर्नेछ।