काठमाडौँः भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ इन्डिया (एनएसई) ले करिब ३० हजार करोड भारतीय रुपैयाँ अर्थात् ३ खर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। यो भारतकै सबैभन्दा ठूलो आईपीओ बन्न सक्ने अनुमान गरिएको छ।
यसअघि भारतका ठूला आईपीओमध्ये हुन्डाई मोटर इन्डियाको २७ हजार ८७० करोड र भारतीय जीवन बीमा निगम (एलआईसी) को २० हजार ५५७ करोड भारतीय रुपैयाँको आईपीओ थियो। एनएसईको प्रस्तावित आईपीओले यी दुवै रेकर्ड तोड्ने अपेक्षा गरिएको छ।
तर, एनएसईको आईपीओ ‘अफर फर सेल’ (ओएफएस) प्रकृतिको हुनेछ। अर्थात् कम्पनीले नयाँ शेयर जारी गर्ने छैन। हालका शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्नेछन्। यसअन्तर्गत करिब १४ करोड ८९ लाख कित्ता शेयर, अर्थात् एनएसईको करिब ६ प्रतिशत शेयर बिक्री गरिनेछ।
भारतको पुँजी बजार नियामक भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी) ले सेप्टेम्बर ४, २०२६ मा एनएसईलाई आईपीओ निष्कासनका लागि अन्तिम स्वीकृति दिएको छ। यससँगै करिब एक दशकदेखि अघि बढ्न नसकेको एनएसईको आईपीओ प्रक्रिया अगाडि बढेको हो।
प्रस्तावित योजनाअनुसार सेप्टेम्बरको दोस्रो सातातिर मूल्य दायरा घोषणा गर्ने, सेप्टेम्बर १५ मा आईपीओका लागि आवेदन खुलाउने र सेप्टेम्बर २४ वा २५ मा शेयर सूचीकरण गर्ने तयारी गरिएको छ।
स्टेट बैंक अफ इन्डिया, एमएस स्ट्राटेजिक ९मौरिसस०, क्यानडा पेन्सन प्लान इन्भेस्टमेन्ट बोर्ड, अरन्डा इन्भेस्टमेन्ट्स, बैंक अफ बडोदा, स्टक होल्डिङ कर्पोरेसन अफ इन्डिया तथा विभिन्न सरकारी बीमा कम्पनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्ने बताइएको छ।
एनएसईले सन् २०१६ मै आईपीओ निष्कासनका लागि अनुमति मागेको थियो। तर, को-लोकेसन र डार्क फाइबरसम्बन्धी विवादका कारण प्रक्रिया लामो समय रोकिएको थियो। हालै सेबीसँग करिब १ हजार ४९१ करोड भारतीय रुपैयाँको सेटलमेन्ट भएपछि तथा सर्वोच्च अदालतमा रहेका सम्बन्धित अपिलहरू टुंगिएपछि आईपीओ निष्कासनको बाटो खुलेको हो।