काठमाडौँः मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति (एक्वायर)गर्ने भएको छ। भदौ १९ गते बसेको तीनवटै संस्थाका सञ्चालक समितिको बैठकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई मुक्तिनाथ विकास बैंकले प्राप्ति गर्ने निर्णय गरेको हो।
प्राप्ति प्रक्रियाका लागि मुक्तिनाथ विकास बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकबीच प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ। सम्झौता भएसँगै प्राप्ति प्रक्रियालाई अघि बढाउन सम्बन्धित संस्थाका आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का गरिएको छ।
तीनवटै संस्थाको चुक्ता पुँजी कति?
प्राप्ति सम्झौतापछि यी तीनवटै संस्थाको चुक्ता पुँजी पनि महत्वपूर्ण पक्ष बनेको छ। मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै, सिन्धु विकास बैंकको चुक्ता पुँजी करिब ५५ करोड ७५ लाख रुपैयाँ र जानकी फाइनान्सको करिब ६९ करोड ५ लाख रुपैयाँ रहेको छ।
यसरी हेर्दा तीनवटै संस्थाको हालको चुक्ता पुँजी जोड्दा करिब ९ अर्ब २५ करोड रुपैयाँ पुग्छ। मुक्तिनाथ विकास बैंकले यी दुई संस्थालाई प्राप्ति गरेपछि बैंकको व्यवसाय तथा पुँजीको आकार थप बढ्नेछ।
अब आवश्यक प्रक्रिया पूरा गरेपछि दुवै संस्थालाई मुक्तिनाथ विकास बैंकमा समेटिनेछ। प्राप्ति प्रक्रिया सम्पन्न भएपछि मुक्तिनाथ विकास बैंकको व्यवसाय, शाखा सञ्जाल तथा ग्राहक आधार थप विस्तार हुने अपेक्षा गरिएको छ।