काठमाडौँः बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले सोमबार (आज) प्रणालीबाट ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ६० दिन अवधिको ‘२ महिने निक्षेप संकलन उपकरण’ मार्फत उक्त रकम संकलन गर्न लागेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजेसम्म निक्षेप संकलनका लागि बोलकबोल हुनेछ। बोलकबोलमार्फत नै निक्षेपको ब्याजदर निर्धारण हुनेछ।
केन्द्रीय बैंकले यसपटक ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो। बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। अधिकतम भने आह्वान गरिएको ३५ अर्ब रुपैयाँसम्म बोल गर्न सकिनेछ। बोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्।
बोलकबोलमा बैंक तथा वित्तीय संस्थाले आफूले जम्मा गर्न चाहेको रकमसँगै प्रस्तावित ब्याजदरसमेत उल्लेख गर्नुपर्नेछ। केन्द्रीय बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलपत्रलाई पहिलो प्राथमिकता दिँदै क्रमशः ३५ अर्ब रुपैयाँसम्म रकम बाँडफाँट गर्नेछ।
समान ब्याजदरमा परेको बोल रकम आह्वान गरिएको रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँट गरिनेछ।
नेपाल राष्ट्र बैंकले संकलन गर्ने यो निक्षेपको साँवा तथा ब्याज २०८३ कात्तिक २० गते भुक्तानी गर्नेछ।