काठमाडौँः ग्लोबल आइएमई बैंक लिमिटेडले २०औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले आगामी असोज १६ गते शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा साधारण सभा आयोजना गर्न लागेको हो।
बिहान ९ बजे सुरु हुने सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्तावित लाभांश पारित गर्नेछ। बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव अघि सारेको छ।
लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिन बुकक्लोज गर्ने भएको छ। त्यसैले असोज २ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागी हुन पाउनेछन्।
सभाले लाभांश प्रस्तावबाहेक बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि पनि निर्णय गर्नेछ।
यससँगै बैंकको प्रस्तावित १० प्रतिशत कुल लाभांशमध्ये ४ प्रतिशत बोनस सेरका रूपमा र ६ प्रतिशत नगद लाभांशका रूपमा वितरण हुने छ। प्रस्ताव साधारण सभाबाट पारित भएपछि मात्र लाभांश वितरणको प्रक्रिया अघि बढ्नेछ।