काठमाडौँः लगातार चार कारोबार दिन बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन बुधबार सामान्य अंकले घटेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक १५.४३ अंकले घटेर २ हजार ५४५.४० विन्दुमा कायम भएको छ।
नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार १ करोड ९ लाख ६५ हजार कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ८३ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
यस दिन अपर लोहोरे खोला हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयरमूल्य १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको बुधबार ४२ करोड ७६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।