काठमाडौँः सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको प्रस्तावअनुसार लगानीकर्ताले बोनस र नगद लाभांश गरी करिब २ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको लाभांश पाउनेछन्।
बैंकको ४८२औँ सञ्चालक समिति बैठकले हाल कायम १४ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
१० प्रतिशत बोनस सेयरका लागि बैंकले १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ। त्यति नै अर्थात् १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ।
यसैगरी, बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसको कुल रकम करिब १० करोड ७५ लाख रुपैयाँ रहेको छ।
यसअनुसार साधारण तथा अग्राधिकार सेयरधनीलाई प्रस्ताव गरिएको लाभांश रकम जोड्दा बैंकबाट लगानीकर्तातर्फ जाने कुल लाभांश रकम करिब ३ अर्ब ६ करोड ५५ लाख रुपैयाँ पुग्नेछ।
हाल बैंकको सेयरको अन्तिम कारोबार मूल्य ४३१ रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।


