काठमाडौँः साझा यातायातले सार्वजनिक यातायातको भाडा संकलन प्रणालीलाई डिजिटल बनाउन नेपाल इन्भेष्टमेण्ट मेगा बैंकसँग सहकार्य गरेको छ। साझा यातायातको डिजिटल टिकटिङ प्रणालीअन्तर्गत बैंकले पेमेन्ट पार्टनरका रूपमा सहकार्य गर्ने भएको हो। सहकार्यपछि साझा बसमा यात्रुहरूको टिकट जारी गर्न बैंकका ओपीएस मेसिन प्रयोग गरिने जनाइएको छ।
यसबाट यात्रुले कार्ड तथा अन्य डिजिटल माध्यमबाट बस भाडा भुक्तानी गर्न सक्नेछन्। साझा यातायातका अनुसार डिजिटल टिकटिङ प्रणालीले भाडा संकलनलाई नगदरहित, सुरक्षित र पारदर्शी बनाउन सहयोग गर्नेछ।
साझा यातायातले सार्वजनिक यातायातको सञ्चालन तथा भाडा संकलन प्रणालीलाई प्रविधिमैत्री बनाउने क्रममा डिजिटल रूपान्तरणका विभिन्न काम अघि बढाएको जनाएको छ। संस्थाले आधुनिक कमाण्ड एन्ड कन्ट्रोल सेन्टरसहित प्रविधिमा आधारित सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
डिजिटल टिकटिङ प्रणालीमा विभिन्न डिजिटल भुक्तानी माध्यमलाई समेट्ने व्यवस्था गरिएको छ। यसबाट सार्वजनिक यातायातमा नगदरहित कारोबारको प्रयोग विस्तार हुने अपेक्षा गरिएको छ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका लागि पनि सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्यले सहकार्य महत्वपूर्ण रहेको जनाइएको छ।
साझा यातायात र बैंकबीचको सहकार्यले सार्वजनिक यातायातमा डिजिटल भुक्तानीको प्रयोग बढाउनुका साथै टिकटिङ तथा भाडा संकलन प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।