काठमाडौँः लघुवित्त वित्तीय संस्थाहरूमा खराब कर्जाको समस्या थप गहिरिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो सुपरिवेक्षण प्रतिवेदनअनुसार खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरूको निष्क्रिय कर्जा १० प्रतिशतभन्दा माथि पुगेको छ।
२०८३ असार मसान्तसम्म यस्तो कर्जा कुल कर्जाको १०.४२ प्रतिशत पुगेको हो। अघिल्लो वर्ष ७ प्रतिशत रहेको निष्क्रिय कर्जा एक वर्षमै बढेर ५० अर्ब ८२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। २०८२ असारमा यस्तो कर्जा ३१ अर्ब २ करोड रुपैयाँ थियो।
खराब कर्जा बढेसँगै लघुवित्त संस्थाहरूको पुँजीमा समेत दबाब परेको छ। समग्र खुद्रा लघुवित्त क्षेत्रको औसत पुँजीकोष १२.५६ प्रतिशत रहे पनि आठ संस्थाको पुँजीकोष ८ प्रतिशतभन्दा तल झरेको छ।

पुँजीकोष र नगद मौज्दात सीमा तोड्दा आधादर्जन लघुवित्तमाथि राष्ट्र बैंकको डण्डा
पुँजीकोष कमजोर भएका संस्थामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था, मातृभूमि लघुवित्त संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था र धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड छन्।
न्यूनतम पुँजीकोष कायम गर्न नसकेपछि राष्ट्र बैंकले विभिन्न १० संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरेको छ। वित्तीय सूचकमा सुधार भएपछि आरम्भ चौतारी लघुवित्तलाई भने कारबाहीबाट फुकुवा गरिएको छ।
नाफा बढे पनि जोखिम घटेन
खराब कर्जा बढिरहेको अवस्थामा खुद्रा लघुवित्तहरूको नाफा भने बढेको देखिन्छ। ४८ वटा खुद्रा लघुवित्तको कुल खुद नाफा ४८.१४ प्रतिशत बढेर १० अर्ब ७८ करोड ६८ लाख रुपैयाँ पुगेको छ।
तर, नाफा बढ्नुमा कर्जा गुणस्तरमा आएको सुधारभन्दा ब्याजदर घट्दा कोषको लागत कम हुनु र खुद ब्याज आम्दानी बढ्नु प्रमुख कारण देखिन्छ। यसबीच कर्जा नोक्सानी व्यवस्थाका लागि लघुवित्तहरूले ३५ अर्ब २४ करोड रुपैयाँभन्दा बढी छुट्याएका छन्।
कृषि क्षेत्रमा केन्द्रित कर्जा
असार मसान्तसम्म खुद्रा लघुवित्तहरूले ४ खर्ब ८७ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। कुल कर्जामध्ये ५८.६३ प्रतिशत कृषि क्षेत्रमा गएको छ। सेवा व्यवसायमा २०.४५ प्रतिशत, थोक कर्जामा ८.६५ प्रतिशत र घरेलु तथा लघु उद्योगमा २.६४ प्रतिशत कर्जा प्रवाह भएको छ।
लघुवित्तको शाखा संख्या भने घटेर ४ हजार ९२४ मा सीमित भएको छ। संस्थाको संख्या ५२ बाट ५१ मा झरे पनि ग्राहक सदस्य ६५ लाख ३० हजार पुगेका छन्। ऋणीको संख्या २७ लाख १३ हजार रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैबीच, राष्ट्र बैंकले केही संस्थामा नियामकीय अनुपालनसमेत कमजोर रहेको औंल्याएको छ। सञ्जीवनी लघुवित्तले तोकिएको सीमाभन्दा बढी धितो कर्जा प्रवाह गरेको तथा अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएको छ।
पछिल्ला समय लघुवित्त संस्थाकाविरुद्धमा गलत प्रचारले पनि व्यवसाय विस्तारमा समस्या आएको छ। यसले गर्दा कर्जा असूलीमा जोखिम बढ्दै गएको छ।


