काठमाडौँः ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ)पदमा बुद्धि अकेला बढुवा भएका छन्। उनी यसअघि बैंकमा नायब महाप्रबन्धक पदमा कार्यरत थिए।
बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव हासिल गरेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअर सुरु गरेका हुन्। उनी सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध छन्।
अकेलाले आफ्नो बैंकिङ यात्राका क्रममा एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायतका महत्वपूर्ण विभागमा जिम्मेवारी सम्हालिससकेका छन्। पछिल्लो समय उनी बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) को जिम्मेवारीमा रहेका थिए।
यसैगरी, उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्।
अकेलाले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन्। उनको लामो बैंकिङ अनुभव, जोखिम व्यवस्थापनसम्बन्धी दक्षता तथा समग्र कार्यसञ्चालन क्षमताले बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन योगदान पुग्ने विश्वास बैंकले लिएको जनाएको छ।


