अंग्रेजीमा एउटा भनाइ छ- तपाईहामी सबैसँग अरुलाई सुनाउनयोग्य कम्तीमा एउटा कथा वा व्यथा छ (Everyone has a story to tell.)। फरक यत्ति हो, तपाईहामीमध्ये कतिले आफ्नो कथा अरुलाई सुनाउछौं, कतिले मनमै पोको पारेर राख्छौं। लाग्छ, आफ्नो दुःख आफैसँग छ, दुनियाँलाई फलाकेर के नै नापिन्छ र? मलाई चाहिँ लेखेर अरुसँग बाँढेपछि मन हलुका भएझैं लाग्छ। अनि लाज पचाएर आफ्ना व्यक्तिगत अनुभुति पनि सेयर गर्ने बानी नै लागिसक्यो।
अनि केही वर्ष पत्रकारिता पनि गरेकोले होला कहिलेकाहीँ केही नलेखे मनमा खसखस हुन्छ। अहिले चाहिँ म देशको राजधानी सहर काठमाडौँमा मेरो पहिलो आगमन अनि शुरुवाती समयमा भोगिएका सुख दुखका केही व्यक्तिगत अनुभुति पोख्दै छु।
बच्चैदेखि टाउको दुख्ने व्यथाले पीडित म त्यसको उपचारको लागि बाको साथ लागेर धेरै पटक काठमाडौँ आएपनि आफैँले राम्रोसँग सम्झिने गरी त्यता लागेको भने २०५१ सालको साउने संक्रान्तिको दिन थियो। बाकै स्कुलमा प्लस टु सकेर सोही वर्षदेखि शुरु भएको तीन वर्षे बीए पढ्नको लागि प्रवेश परीक्षाको लागि म साउने झरीमा गुल्मीबाट काठमाडौँको यात्रा तय गरेको थिएँ, आफ्नै दाइसँग।
पहाडको बाटो, मध्य बर्खा, आधा बाटो हिँडेर अनि कतिपय ठाउँमा गाडी चढेर हामी बुटवलसम्म आइपुग्यौँ जसोतसो। त्यहाँबाट नाइट बस पक्रियौँ काठमाडौँका लागि। रङ्गिन बुटवल अनि चिटिक्क परेको नाइट बस मेरा लागि स्वप्निल संसार जस्तै थिए, त्यो बेला। नाइट बस चढेपछि, दाइले सिटमुनि हात हालेर यसो के जाति बटारेपछि बसको सिट त सर्लक्क झरेर ओछ्यानझैं बनाइदिँदा दंग परेको थिएँ। दाइले मलाई झ्यालको सिटमा राखेर लौ हेर्दै जा भन्नुभयो, म रातभर जाग्राम बसेर चारैतिर हेर्दै यात्रा गरिरहेँ। शायद बसमा ननिदाउनेमा ड्राइभर र म मात्र थियौं कि! त्रिशुलीको किनारको डरबाहेक बडो रोमाञ्चक यात्रा गर्दै राजधानी सहर आइपुग्यौं हामी।
एकाघरका काकाहरुसँग हामी ललितपुरको कुम्भेश्वर (अहिले त बंगलामुखी भन्छन् क्यार) आसपास उहाँहरुकै डेरामा मिलेर बस्यौं। चार तलामाथिको एउटा कोठा, शौचालय भने भुईतलामा। त्यो पनि एउटा मात्र। अनि पानी बोकेर चार तला माथि जानुपर्ने। पानी फाल्न पनि चार तला झरेर आउनुपर्ने। मलाई लाग्थ्यो कस्तो हो यो राजधानी सहर? गोबरग्यास नै भए पनि यो भन्दा सुविधा त मेरै गाउँमै छ यार!
त्यही वर्षबाट शुरु भएको तीन वर्षे बीएको लागि प्रवेश परीक्षा अनिवार्य गरेको थियो त्रिभुवन विश्वविध्यालयले। त्यसक्रममा म त्रिचन्द्र क्याम्पस पुगेको थिएँ। त्यही वर्ष गगन थापा स्ववियु सभापतिमा लडेका थिए। ठुलै मारामार भएको थियो। प्रवेश परीक्षा क्याम्पसले होइन, नेविसंघले लिएको थियो। अनि मलाई गुल्मीको ज्ञवाली भनेपछि अन्तर्वार्ताकारले भनेका थिए, ‘हेर्दा त कम्युनिस्टको छाउरो जस्तो देखिन्छ नि?’
पाटनढोकाको बस चढेर त्रिचन्द्र आउने जाने गर्दा कम्तीमा सय पटक त म हराएँ होला। अनि त्रिचन्द्रको वारिपारि बाटो काट्न नसकेर धेरै क्लास छुटाएँ होला।
हुन पनि गुल्मी, बम्घाको ज्ञवाली भनेपछि हामी स्वतः कम्युनिस्ट। राजनीतिमा चासो भए पनि नभएपनि। लालकिल्लाबाट आएको म पहिलो मताधिकार प्रयोग गर्दा भाषणबाटै प्रभावित भएर गगन थापालाई भोट हालेको थिएँ। मलाई सम्झना छ, गगनसँग चुनाव हारेका हरि आचार्य कसरी राजनीतिबाट पलायन भए। इमान्दारहरुलाई राजनीतिमा ठाउँ कहाँ हुनु! झन् त्यो बेला।
जे होस् जसरी भएनि त्रिचन्द्रमा भर्ती भइयो। बीएमा अंग्रेजी मेजर राखेर।
पाटनढोकाको बस चढेर त्रिचन्द्र आउने जाने गर्दा कम्तीमा सय पटक त म हराएँ होला। अनि त्रिचन्द्रको वारिपारि बाटो काट्न नसकेर धेरै क्लास छुटाएँ होला।
गुल्मीको एउटा गाउँबाट आएको एक फुच्चेको लागि हजारौं विद्यार्थी हुने त्रिचन्द्र छिचोल्नु एउटा महाभारतै थियो। ज्यान र हाउभाउ हेरेर होला मेरा सहपाठीहरु मलाई भाइ भन्थे। अनि तिमी, जबसम्म पहिलो वर्षको रिजल्टमा राम्रै अंक हात परेथ्यो। ट्युसन पढ्न गएको घट्टेकुलोमा एक जना सरकोमा। पढाउन खासै नआउने रैछ! अनि केटाहरुलाई पोर्न फिल्म देखाउने र यसो बेलाबेला दारु पार्टी गरेर हात लिने। अर्थात्, म फुच्चेले पनि पोर्नको पहिलो टेस लिएँ तर दारु चाखिएन त्यो बेला। अनि साथीहरुले ‘ओ भाइ! यो लगेर ऊ त्यसलाई देऊ त’ भन्थे। लाग्थ्यो के होला! यो पछि थाहा लाग्यो त्यो लभ लेटर भन्ने जिनिस रैछ। उनीहरु ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड रैछन्। त्यो बेला म बबुरोलाई के थाहा!
त्यो ढुवानी गरिदिए वापत साथी वा दाइहरु मलाई खाजा ख्वाउथे। म त्यसैमा मख्ख। त्यस्तै निशुल्क खाजा अन्तर्गत खुवाइएको चाउमिन काँटाले खान नजान्दा भएको बिजोग यता नलेखौं होला अहिले!
अब कुरा गर्नुपर्छ, ममको कहानी। पाटन कुम्भेश्वर भनेपछि नेवारको बस्ती, त्यो बेला त कमै थिए मम पसल। त्रिचन्द्रको क्यान्टिनमा मम त थिएन, तर दाइ भनाउँदाहरुको पछि लागेर म पनि मम खान सिकिसकेको थिएँ। अनि म पाटनमा मम खान सिपालु भैसकेको थिएँ। म जुन अंकलकोमा बसेको थिएँ उहाँहरु चाहिँ करिब करिब लसुन प्याज पनि नखाने हुनुहुन्थ्यो। आज पर्यन्त पनि खानुहुन्न। म चाहिं लुकिचोरी सबै भ्याइसकेको थिएँ।
‘टिम्ले मेरो छोरीलाइ हेरेर ल्याको हो?’ अहिले बुझ्दै छु प्राय नेताले आफ्नै घरबेटीका छोरी उडाएका रैछन्। अनि त्यस्तो शंका किन नगरुन्?
हाम्रो अर्का एकजना आफन्त हरेक बेलुका हामी बसेको ठाउँमा आउनुहुन्थ्यो र रमाइला गफगाफ गर्नुहुन्थ्यो। र मलाई सधै सचेत गराउनुहुन्थो कि ‘हेर केटा भर्खर गाउँबाट आउनेलाई थाहा हुँदैन यता भैंसीको मम खान्छन् ख्याल गर्नु है त्यो खान हुन्न’। म चुपचाप बसेँ, कारण बफ मम बजाइसकेको थिएँ।
भोलिपल्ट शनिबार थियो, अंकल घरमै, मलाई मम नखाई नहुने, म एक छिन हिडेर आउँछु भनेर फुत्त बाहिर निस्केँ। शायद त्यो बेला ममको दश रुप्पे थ्यो होला। मम पसलमा गएको त तिनै आफन्त प्लेटभर मम लिएर झ्वाम झ्वाम हर्सुदै। म पनि के कम, उहाँको साइडकै सिटमा गएँ र बसेँ। हामी दुवै जना उन्मुक्त हास्यौं अनि सहमत भयौँ कि मेरा अंकलहरुसँग यो कुरा भन्ने छैनौँ। वर्षौँ पछि बेलायतमा उहाँसँग भेट्दा यो विषयमा कुरा गर्दा हामी घण्टौँ हाँसेका थियौँ।
हामी बाहिरको मान्छे भनेपछि मुख्य समस्या डेराको। काठमाडौँ, ललितपुर वा भक्तपुरको कुनै गल्ली छैन होला जहाँ कोठा खोजिएन विभिन्न कालखण्डमा। कोठा खोज्दाका पनि दर्जनौँ किस्साहरु छन्। तिनै लसुन प्याज नखाने अंकलसँग कोठा खोज्न हिँडियो- कतै परिवारलाई नदिने, कतै केटालाइ नदिने, कतै विद्यार्थीलाई नदिने त कतै जागिरेलाई नदिने। त्यसैले हामीले आफू के हो भन्दा पनि घरवालालाई के चाहिएको हो त्यो बन्दै र भन्दै गर्यौं।
‘टिम्रो ढेरै फोन आएर मेरो ढेरै पैसा गयो’ भन्थे कति घरबेटी। कीर्तिपुरको कुरा यो। आएको फोनको पैसा कहाँ लाग्दो हो र? अनि कति भन्थेँ ‘टिम्ले मेरो छोरीलाइ हेरेर ल्याको हो?’ अहिले बुझ्दै छु प्राय नेताले आफ्नै घरबेटीका छोरी उडाएका रैछन्। अनि त्यस्तो शंका किन नगरुन्?
पहिलेपहिले अहिले जस्तो मान्छेहरुसँग पैसो हुन्थेन। अनि होटलतिर बस्ने भन्ने चलन पनि हुन्थेन। त्यसैले कोही सहरमा बस्नु भनेको सिंगो गाउँ विकास समितिको अनि कहिलेकाहीं त जिल्लाकै मान्छेहरुको स्वागत गर्न तयार हुनुपर्ने, अस्पतालको चेकजाँच, अप्रेसन, बिरामी कुरुवा, कलंकी लिन जाने आउने, श्रम बनाउने, एयरपोर्ट लिन वा छाड्न जाने वा उच्च माध्यमिक शिक्षा परिषद वा त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा प्रमाणपत्रहरु निकाल्ने, यो त हाम्रो ठेक्कै हुने।
संसारका धेरै मुलुक आउनेजाने गरे पनि, मलाई यो काठमाडौँ खाल्टोबाहेक अरु कुनै पनि ठाउँ आफ्नो लागेन।
आफ्नो काम वा पढाइ गर्न त कहाँ भ्याउनु यतिका काम छोडेर। फेरि आफ्ना बा त झन् सार्वजनिक व्यक्ति, कि त टन्नै मान्छे बोकेर आउने वा त पठाउने, मेरो छोरो छ त्यता भन्दै, यता, घरबेटी चप्पल गनेर बस्ने, तर पनि रमाइला थिए ती दिनहरु, जुन चाहेर पनि फेरि फर्किने छैनन्।
राजधानी वा सहरमा घर हुनु कति ठुलो चिज रैछ, त्यो बेला अलिअलि अनि, भूकम्पको बेला धेरै थाहा लागेको थियो। जसोतसो डेरा पाउने, बस्ने र पढ्ने काम त अघि बढ्यो, अनि घर छाडेपछि थाहा लाग्यो जिन्दगी कति जटिल रहेछ।
सरेका डेरा र तीसम्बद्ध कहानी लेख्ने हो भने त एउटा किताब नै तयार होला, त्यसैले डेरा फण्डालाई संक्षेपमा भन्दा जागिरेकालमा भने धेरै असल मानिसहरुको घरमा बस्ने मौका पनि पाइयो। परिवार जसरी पनि बसियो, ठुलै सहयोग पनि आदानप्रदान गरियो । अनि धेरैसँग अहिले पनि सुमधुर र पारिवारिक सम्बन्ध सरह छ।
अँ साँच्ची, एउटा कुरा झन्डै बिर्सेको, काठमाडौँमा अहिले पनि सार्वजनिक शौचालयको अवस्था तपाईंहामीलाइ थाहै छ, झन् पहिले कस्तो होला? त्यो बेला धेरै ठाउँसम्म त हिँडेरै पार लगाइन्थ्यो। जब बाटोमा पिसाबले सताउँथ्यो। तिनै लसुन प्याज नखाने काकाले आइडिया दिनुभएको थियो, यसो ठिकठिकैको घरमा पस्ने, कोठा खाली होला हजुर भन्ने! खाली भए हेरेजस्तो गर्ने। कोठा भएनि नभएनि मिलाएर पिसाब चाहिँ फेरेर निस्किने। यो आइडियाले धेरै पटक काम गरेको छ।
उहाँ काकाजीसँगै हिँडडुल गर्ने क्रममा धेरै पटक कतै पार्टी, भोज भैरहेको छ भने विना निम्तो वा जिनजान झ्याप्पै भित्र गएर टन्न भोज खाएर निस्किएको पनि छ। गेटतिर कोही भेटे चिन्नु न जान्नुसँग नमस्कार गर्यो, अनि ङि्च्च दाँत देखाएर हास्यो र लाग्यो सिधा खानाको लाइनमा। अहिले यो सम्झिँदा लाज र रोमाञ्चक अनुभुति एकै पटक हुन्छ मलाई। यस्ता भन्न मिल्ने र नमिल्ने कैयौं घटना पार गर्दै राजधानीको जीवन बताइएको छ।
राजधानी सहरले मलाई धेरै कुरा सिकाएको छ। सुखदुखमा साथ दिएको छ। अनि मेरो हासो र आँशुको साक्षी बसेको छ। म कति दिन भोकै सुतेँ वा कहिले तारे होटलमा लन्च वा डिनर गरेँ त्यो सबै कुरा मलाई देखाउने राजधानी सहर हो। धुलो, धुवा, फोहरको डंगुर वा जति अव्यवस्थित भएपनि यो ठाउँ मलाई असाध्य मन पर्छ। लाग्छ यो ठाउँको कुनै चिया पसल छैन होला जहाँ मैले चिया वा चना खाइनँ होला। कुनै मम पसल बाँकी होला जहाँ मैले ममका डल्ला क्वाप्प पारिनँ होला। तीनपांग्रे टेम्पोदेखि निलो माइक्रो हुँदै कुनै थोत्रो बस बाँकी छैन होला जुनमा म चढिनँ होला। सहरका छेउकुनाका पान पसलमा कहिले मिठा पान त कहिले जर्दा पान, कहिले रजनीगन्धा त कहिले शुद्ध प्लस चाख्न के नै बाँकी रह्यो र। कतिसम्म भने किराना पसल त हुने नै भए, सानातिना पान पसल र राम्रै रेस्टुरेन्टदेखि टेम्पुसम्ममा उधारो चल्ने भैसकेको थियो।
आफू गुल्मीमा जन्मेर जति समय त्यहा बसेँ, त्यो भन्दा बढी समय बसेको र मलाई शिक्षादेखि कर्म अनि जीवन जिउने कला सिकाउने काठमाडौँतिर म ढल्किएँ भन्दा मेरो जन्मठाउँ गुल्मी र अहिलेको वासस्थान भएको बुटवलले चित्त नदुखाउला नि! यसै ठाउँको कारणले मैले धेरै नाम चलेका राष्ट्रिय तथा अन्तरास्ट्रिय संस्थाहरुका काम गर्ने अवसर पाएँ, देशका करिब सबै ठाउँका मानिससँग चिनजान र भेटघाट भयो। धेरै ठाउँ पुग्ने अवसर पनि पाएँ। यी सबै कारणले काठमाडौँ खाल्टोप्रति कृतज्ञ हुनु मेरो कर्तव्य पनि त होला नि?
संसारका धेरै मुलुक आउनेजाने गरे पनि, मलाई यो काठमाडौँ खाल्टोबाहेक अरु कुनै पनि ठाउँ आफ्नो लागेन। भलै मेरो आजका दिनमा त्यहाँ एउटा झोला लगेर राख्ने ठाउं पनि छैन। खैर, करिब ३० वर्षको स्मरण केही सय शब्दमा अटाउने कुरा भएन, त्यसैले बाँकी कुरा अर्को लेखनीमा लेख्ने गरी यतै बिट मारेँ।
