काठमाडौँ: अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि कर तथा विवरण दाखिला नगरेका र कर विवादमा रहेका करदातालाई सरकारले उपलब्ध गराएको छुट तथा सहुलियतको सुविधा उपयोग गर्न पुनः आग्रह गरेका छन्।
राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले आर्थिक ऐनमार्फत ल्याइएका कर छुट तथा सहुलियतका योजनाबाट लाभ लिन करदातालाई आग्रह गरेका हुन्।
उनले लामो समयदेखि शुल्क, दस्तुर, थप दस्तुर तथा जरिवानाका कारण कर दायित्व पूरा गर्न नसकेका करदातालाई सरकारले उपलब्ध गराएको सुविधाले राहत पुग्ने बताए।
वाग्लेले यस्ता सुविधा पटक–पटक उपलब्ध नहुने भन्दै लामो समयदेखि कर विवादमा अल्झिएका तथा कर विवरण दाखिला नगरेका करदातालाई यसै वर्ष उपलब्ध अवसरको उपयोग गर्न आग्रह गरे।
उनका अनुसार सरकारले कर विवाद समाधानका क्रममा ठूलो रकम बराबरको राहत उपलब्ध गराएको छ। करसम्बन्धी विवाद समाधान र सहुलियतका योजनाले वर्षौँदेखि कर दायित्वका कारण समस्यामा रहेका करदातालाई पुनः व्यवसाय सञ्चालन तथा कर अनुपालनामा फर्किन सहज हुने उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले करदातालाई उपलब्ध गराइएको छुट तथा सहुलियत सुशासनप्रतिको सरकारको प्रतिबद्धतासँग जोडिएको पनि बताए।
अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने बताएका छन्।
राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले कर प्रशासनको डिजिटल रूपान्तरण, कर अनुपालना अभिवृद्धि तथा कर विवाद समाधान र कर न्यायलाई सरकारले प्राथमिकतामा राखेको बताए।
उनले कर प्रशासनको डिजिटल रूपान्तरण र स्वचालनलाई समग्र सुशासनको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने बताए।
उनले भने, ‘आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीलाई सरल, सहज, सुरक्षित, व्यवसायमैत्री र करदातामैत्री बनाउन आवश्यक प्राविधिक सुधार हामी गर्नेछौँ। कारोबार, लेखापालन, प्रतिवेदन तयारी, आय विवरण पेस र कर दाखिला सम्मका प्रक्रियालाई प्रविधिमार्फत सहज र स्वचालित बनाउँदै कर प्रशासनको कार्यक्षमता अभिवृद्धि गर्नेतिर हामी सबै लागेका छौँ र यसमा मेरो आईआरडीलाई विशेष अनुरोध पनि छ।’
आर्थिक ऐनमार्फत ल्याइएका कर छुट तथा सहुलियतका योजनाबारे पर्याप्त प्रचारप्रसार हुन नसकेको भन्दै उनले करदातालाई ती सुविधाबारे जानकारी गराउन आन्तरिक राजस्व विभागलाई आग्रह गरे।
उनले भने, ‘यसपालि न भूतो न भविष्यति शैलीमा हामीले यति ठूला–ठूला महत्त्वाकांक्षी स्किमहरू ल्याइदिएका छौँ, चर्चै हुँदैन। मलाई आशा छ, पुसभित्रमा यहाँहरू सबै करदाताहरूले जो शुल्क, दस्तुर, थप दस्तुर, जरिवाना, थप जरिवानाबाट खिचिएर उठ्नै नसक्ने गरेर थला पर्नुभएको थियो, तपाईँहरूको लागि यो ऐतिहासिक जनादेशप्राप्त सरकारले ऐतिहासिक बम्पर उपहार ल्याएको छ, यसको फाइदा लिनुहोला।’
कर विवाद समाधानमार्फत सरकारले ठूलो राहत उपलब्ध गराएको उल्लेख गर्दै उनले यस्ता सुविधा पटक–पटक नआउने बताए।








