सुर्खेत–कर्णाली प्रदेशका १० जिल्लामा लम्पीस्किन रोगबाट संक्रमित १ लाख २५ हजार ९१ पशुचौपायाको उपचार गरिएको छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार ९ हजार ९०१ पशुलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको हो।
पछिल्लो समय पशुमा लम्पीस्किन रोग तीव्र रुपमा फैलिँदै गएको छ। प्रदेशका कृषिमन्त्री भीमप्रकाश शर्माले रोग नियन्त्रण गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।
मन्त्रालय निमित्त सचिव राजु भुजले प्रेस विज्ञप्ति जारी गर्दै खोप अभियान तिव्र पारिएको उल्लेख गरेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिंगाड गाउँपालिकाबाट २७ चैत २०७९ मा गाईगोरुको सिरिम र छालाको भागको नमुना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो। परीक्षण गर्दा गत ४ वैशाखमा लम्पीस्किन रोग पुष्टि भएपछि खोप लगाउन थालिएको मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिए।
कर्णालीमा सबैभन्दा बढी सल्यानमा ३४ हजार ३२८ पशुमा लम्पी स्किन देखिएको छ। सो रोगबाट मुगुमा ४२९ पशुचौपाया संक्रमित भएका छन्।



