काठमाडौँ- ‘देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ। मैले बाबुराम (बाबुराम भट्टराई)जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु,’ करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भनेकी थिइन्।
निको नहुने जटिल प्रकारको पार्किन्सन्स रोगबाट लामो समयदेखि पीडित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी उनै सीताको आज बिहान ८:३३ बजे निधन भयो।
खासगरी माओवादी पार्टीभित्र अध्यक्षको श्रीमतीभन्दा पनि अभिभावकीय भूमिका निर्वाह गरी सीताले सङ्कटको समयमा माओवादीलाई जोगाएको स्वयम पार्टीका नेता तथा कार्यकर्ता स्मरण गर्छन्।
सञ्चारकर्मीसँगको एक भेटमा सीताले भनेकी थिइन, ‘पार्टीभित्र अन्तरसङ्घर्ष चल्दा प्रचण्डजीलाई उचाल्ने मान्छे पनि थिए, बाबुरामजीलाई उचाल्ने मान्छे पनि थिए। मैले दुवै नेतालाई खराब मान्छेहरूबाट टाढा बस्न सुझाव दिन्थे।’
तत्कालीन नेकपा (माओवादी)भित्रका अन्तरविरोध समाधान गर्न उनले खेलेको भूमिका यही धारणाबाट पनि स्पष्ट हुन जान्छ। लामो समय डा भट्टराईको सचिवालयमा स्वकीय सचिवको भूमिकामा रहनुभएका विश्वदीप पाण्डेका अनुसार मुलुकमा भएको राजनीतिक परिवर्तनमा उनले खेलेको भूमिका महत्त्वपूर्ण छ।
‘यो परिवर्तनमा तपाईंको योगदान प्रत्यक्ष देख्नेले मात्रै थाहा पाएको छ। सधैँ पर्दा पछाडि रहेर आफ्नो भूमिका पूरा गर्नुभयो। तपाईंको महाप्रस्थानमा निकै दुःखी छु। तपाईंको अभाव महसुस भइरहनेछ’, सीता दाहालको सम्झनामा पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही वर्षदेखि तपाईंलाई हेरेरै भए पनि कैयौँ संवेदनाहरु भुलाइरहनुभएका कमरेड प्रचण्डलाई तपाईंको सबैभन्दा बढी अभाव खड्किनेछ। हार्दिक श्रद्धाञ्जली कमरेड सीता दाहाल। खुसी प्रकट गर्ने र सबभन्दा ज्यादा दुःखका तापमा सुस्ताउने चौतारी गुमाउनुभएका कमरेड प्रचण्डलगायत परिवारजनप्रति हार्दिक समवेदना।’
पार्टीभित्र कुनै पनि अप्रिय निर्णय नगर्न सीताले पार्टी अध्यक्ष प्रचण्डलाई धेरै सचेत गराए। माओवादी जनयुद्धको समयमा उनले खास अर्थमा आमाकै भूमिका निभाएको स्मरण गर्छन्, माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा। ‘हामी सबैको आमाकारुपमा उनले विशेष भूमिका निर्वाह गर्नुभएको थियो’, उनले भने।

२०७८ साउन ५ गते बिरामी अवस्थाकी सीतालाई भेट्न पुगेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा (नमस्कार गर्दै)।
जनयुद्धको समयमा भारतमा माओवादीका नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका थिए। नेताहरु मातृका यादव, सुरेश आलेमगरलगायतका नेता पक्राउ परेकै दिन अध्यक्ष प्रचण्डले उनहरुसँग भेटवार्ता गर्ने कार्यक्रम थियो। यदि त्यसदिन अध्यक्ष प्रचण्डलाई दिल्लीको मङ्गलपुरीमा तय भएको भेटका लागि सीताले जान नरोकेको भए पक्राउ पर्ने सम्भावना रहेको माओवादी केन्द्रका सचिव शर्मा स्मरण गर्छन्।
माओवादीका नेताहरुका अनुसार सीता प्रचण्ड पत्नी मात्रै नभई सहयात्री र राजनीतिक सहयोद्धासमेत थिइन्। माध्यामिक विद्यालयको शिक्षकको जागिर छाडेर राजनीतिमा होमिएका पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने भूमिकामा सीताको महत्त्वपूर्ण योगदान रहेको बताउनेको सङ्ख्या ठूलो छ।
प्रधानमन्त्री प्रचण्डको पारिवारिक जीवनमा पछिल्लो १० वर्षमा तेस्रो बज्रपात परेको छ। जेठी छोरी ज्ञानुको स्तन क्यान्सरबाट निधन भयो। छोरा प्रकाशको पनि छ वर्षपहिले निधन भयो। आज पत्नी सीताको पनि निधन भयो।
राजकीय सम्मानसहित सीताको बिदाइ, पार्थिव शरीरमा प्रचण्डले दिए दागबत्ती
विसं २०११ असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी सीता आठ वर्षको हुँदा पारिवार चितवन बसाइँ सरेको थियो। औपचारिक शिक्षा नलिए पनि समाज, राजनीति र देश बुझ्ने सवालमा उनको बुझाइ गहन थियो।
विसं २०२६ वैशाखमा प्रचण्ड र सीताको मागी विवाह भएको थियो। सीताले २०२८ सालमा कम्युनिस्ट पार्टीको सदस्य लिएकी थिइन्। चार सन्तानकी आमा सीतालाई मसिना छोराछोरी र श्रीमान्को भूमिगत राजनीतिलाई सन्तुलन कायम गर्नु तत्कालीन अवस्थामा चूनौतीपूर्ण जिम्मेवारी थियो।
माओवादीका नेता तथा कार्यकर्ता र शुभेच्छुकका अनुसार सीताले आमा, श्रीमती, राजनीतिक सल्लाहकार तथा कार्यकर्ताका रुपमा पुर्याएको योगदानमा कुनै प्रश्न उठाउने ठाउँ छैन। खासगरी अप्ठ्यारो अवस्थामा नआत्तिन र खुसीमा नमात्तिन श्रीमान् प्रचण्डलाई सल्लाह दिने सल्लाहकारको भूमिकामा रहेका सीताले बनारसदेखि रोल्पाको थवाङसम्मको वस्तुस्थितिका बारेमा राम्रो ज्ञान थियो।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन्।
विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उन जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन्। सीता देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी थिइन्।

केही वर्षपहिले सीता दाहाल।
महासचिव गुरुङका अनुसार सीताले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याएकी छन्। सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता रहेको गुरुङ स्मरण गर्छन्। पार्टी पङ्क्तिले अभिभावकका रुपमा लिने सीता कुनै पनि सार्वजनिक विवादमा भने मुछिनु भएन।
लेखक तथा कवि सुमिना सीतालाई प्रधानमन्त्री प्रचण्डको पत्नीका रुपमा मात्रै नभएर परिवर्तनको सानो हिस्सेदारीका रुपमा इतिहासले सधैँ स्मरण गर्नुपर्ने बताउँछिन्। ‘पछिल्लो अवधि देशमा जे जति सामाजिक, राजनैतिक र सांस्कृतिक परिवर्तनहरू भए ती १० वर्षे जनयुद्धका उपलब्धि हुन् भन्ने सत्य ढाकेर नढाकिने सत्य हो। त्यो उपलब्धिमा सीता दाहालको भूमिका पनि सायद कतै भेटिन्छ कि ?’, उनले भनिन्।
माओवादीका नेताहरुका अनुसार २०६१ सालमा रोल्पाको फुन्टिवाङमा भएको बैठकपछि पार्टीभित्र चर्को विवाद भएको थियो। त्यसबेला सीता उपचारका क्रममा भारतमा थिइन्। पार्टीभित्र विवाद बढेको थाहा पाएपछि उनले रोल्पा पुगेर प्रचण्ड र बाबुराम दुवैलाई सम्झाएकी थिइन्।
‘तपाईंहरु सानातिना विषयमा विवाद गरेर नबस्नुस्, तत्काल मिलाइहाल्नुस्’, सीताले भनेकी थिइन्, ‘जनताको रगत बगिसकेको छ। तपाईंहरुको ताल के हो यस्तो ? यस्तै हो भने तपाईंहरुलाई जनताले छाड्दैनन्।’

एक कार्यक्रममा पति प्रचण्डसँग सीता।
यस्तै, सल्लाहका कारण पार्टीभित्रका अनेकन सङ्कट समाधान भएको माओवादीका नेताहरुको भनाइ छ। प्रधानमन्त्री पत्नी भए पनि उनले बालुवाटारमा बसेर अनावश्यक चासो लिएको तथा विवादमा पर्नुभएको थिएन। कवि अर्जुन पराजुलीले सोही विषयलाई केन्द्रमा राखेर एउटा कविता लेखेका छन्-
श्रीमान् चलाइनौ तिमीले
छोराछोरी चलाइनौ
न आँखा चलायौ, न नाक चलायौ
न रवाफ न धाक चलायौ
न हात चलायौ तिमीले
न मुख चलायौ
बालुवाटारमा बसेर
न बालुवाटार चलायौ
कसैलाई नचलाईकन आज
तिमी आफैँ चल्यौ, सलाम छ तिमीलाई।
पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन चाहने उनको स्वभाव थियो। माओवादीभित्र मात्रै नभई विसं २०७४ सालमा तत्कालीन नेकपा ( एमाले)सँग पार्टी एकता गर्दा पनि सीताले खुसी व्यक्त गर्दै कम्युनिस्ट जनमतलाई थप एकीकृत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी थिइन्।
जटिल प्रकारको पार्किन्सन्स रोगबाट पीडित सीताको उपचारका लागि अनेकन प्रयास गरिएको थियो। नेपाल, भारत र अमेरिकाका विभिन्न अस्पतालमा पनि उपचार भएको थियो।
पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिन पुगेका नेता तथा कार्यकर्ताले सीतालाई माओवादीका सर्वोच्च नेता प्रचण्डको असली सल्लाहकारका रुपमा व्याख्या गरे। उनीहरुले प्रचण्डलाई सफल बनाउन सीताले खेलेको भूमिकाको चर्चा गरेका थिए।
प्रधानमन्त्रीलाई परेको चोट हामी अनुमान गर्न सक्छौँ : मीनेन्द्र रिजाल
माओवादीका नेता दीनानाथ शर्माले सीताले पार्टीभित्र विभिन्न सङ्कट र अप्ठ्यारो अवस्थामा पनि सवैलाई सम्झाई बुझाइ गरी पार्टीमा आमाको भूमिका निर्वाह गर्नुभएको स्मरण गरे।
‘हप्कीदप्की र माया गरेर सबैलाई ठीक ठाउँमा राख्ने अभिभावकको भूमिका, सबैलाई मिलाउने, क्रान्तिका कठीन घडी र सङ्कटबाट पार्टीलाई जोगाउने, प्रचण्डलाई यहाँसम्म पुर्याउन राजनीतिक सल्लाहकारले दिनुपर्ने सबै भूमिका निर्वाह गर्नुभयो’, उनले भने।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिवङ्गत सीताको योगदान पार्टी र आन्दोलनमा धेरै रहेको बताउँछन्। ‘अध्यक्षको भूमिकालाई प्रभावकारी बनाउने र पार्टी आन्दोलनलाई अघि बढाउने सन्दर्भमा गृहणीमात्र नभई सक्रिय योद्धाकै भूमिका रह्यो’, उनले भने, ‘अध्यक्ष प्रचण्डलाई सहयोग गर्ने, चित्त नबुझेको कुरा सोझै भन्ने र रोक्न सक्ने क्षमता थियो।’

सीतालाई दागबत्ती दिँदै प्रधानमन्त्री प्रचण्ड।
गजुरेलले सीताको मुख्य विशेषता भनेको मानिसको अनुहारलाई पढेर कुन मानिस कसरी प्रस्तुत भयो, बाहिरी आवरण मात्रै हो कि हृदयदेखि हो भन्ने अनुहार अध्ययन गरेर प्रचण्डलाई सुझाव दिनेखालको क्षमता भएको स्मरण गरे। पार्टीमा सङ्कट आएका बखत एकताबद्ध गर्न भेटघाट र छलफल गर्ने गरेको सन्दर्भ स्मरण गर्दै उनले सीताको योगदान पार्टीमा अतुलनीय रहेको बताए। सीताको निधनले अपूरणीय क्षति पुगेको गजुरेलको भनाइ छ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य कल्पना धमलाले सीता पार्टीको अभिभावकका रुपमा रहेको बताइन्। ‘आज हामीले अभिभावक गुमाएका छौँ। सिङ्गो पार्टी पङ्क्ति मर्माहत छ। पार्टी आन्दोलन र सङ्गठन निर्माणका क्रममा नेता तथा कार्यकताको संरक्षणका क्रममा उनले गर्ने मूल्याङकन असाध्यै न्यायिक थियो’, उनले भनिन्।
पूर्वमन्त्री शशी श्रेष्ठले पुष्पकमललाई ‘प्रचण्ड’ बनाउन सीताको धेरै ठूलो योगदान रहेको उल्लेख गरिन्। ‘घर परिवार सम्हाल्ने मात्र होइन, जनयुद्धका समयमा साथै हिँडेर प्रचण्ड बनाउने काम उनले नै गर्नुभयो’, उनले भनिन्। -रासस


