काठमाडौं– सुनसरीको इटहरीमा चार जना सवार मोटरसाइकल पिकअप भ्यानसँग ठोक्किँदा घटनास्थलमै तीन जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा इटहरी १६ का अन्दाजी २६ वर्षीय करण चौधरी, सोही ठाउँका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरी प्रहरीले जनाएको छ।
कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राती १०ः४० बजे इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पिकअपसँग मोटरसाइकल ठोक्किएको हो। पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लुबी७३ई९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९प३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा घाइते मोटरसाइकलमा सवार चारै जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र उपचारका क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन्।
उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पिकअप चालक भारत दार्जिलिङ फोडीगढीका ३२ वर्षीय गोविन्द वरमुनलाई इलका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ।


