काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा प्रकाशशरण महत केपी शर्मा ओलीका पालामा गरिएको बजेट परिचालनको अभ्सासले सरकारलाई ठूलो दायित्व सिर्जना गरेको बताएका छन्। कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन्।
‘अर्थतन्त्रमा समस्या छ। ओलीजीको शासनकालमा सरकारीतन्त्रमा बजेटलाई जसरी परिचालन गर्ने अभ्यास थालियो,’ उनले भने, ‘स्रोत सुनिश्चितताका नाममा ५ करोडको बजेट लागेर ५ अर्बको ठेक्का लगाउने काम भयो। त्यसले ठूलो दायित्व सिर्जना भयो। त्यो दायित्व पूरा गर्न सकेका छैनौं। यसलाई सुधार गर्नुपर्ने स्थितिमा म उभिएको छु। बडो अप्ठ्यारो अवस्थामा जिम्मेवारी प्राप्त गरेको छु।’
अर्थतन्त्र विस्तारै लयमा फर्कँदै गरेको उनको दाबी छ। भविष्यमा रिजल्ट देखिने गरी काम गरिरहेको जिकिर गरेका मन्त्री महतले लोभमोह नगरीकन सुशासनका लागि काम गरिरहेको बताए।
‘बाह्य सञ्चिति ११ महिना आयात धान्न सक्ने अवस्था छ। रेमिट्यान्सले यसमा महत्वपूर्ण छ। टुरिजम पनि लयमा फर्किएको छ। विदेशी मुद्रा कमाउन सहयोग गरेको छ,’ उनले थपे, ‘ब्याजदरका कारणले केही समस्या देखिएको छ। यसमा सुधार हुने बित्तिकै हामी ठिक बाटोमा हुन्छौं। निजी क्षेत्रले राहात पाउँछ र अर्थतन्त्र सहज हुन्छ। आयात प्रतिबन्धले राजस्वमा नकारात्मक असर पर्यो। त्यसलाई लयमा ल्याउन मूल्य अभिवृद्धि कर धेरै क्षेत्रमा लाउन लागिएको छ। त्यसले राजस्व बढ्छ। यो वर्ष हामीले केही सुधार देखिन्छ।’
उनले विभिन्न मन्त्रालयका लागि कम बजेट परेको स्वीकार गरेका थिए।


