रसुवा–चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ। कोरोना महामारीसँगै आउजाउ बन्द भएको नाका गत १८ चैतदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो।
सोही नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन सुरु भएको छ। नेपाल भित्रने चिनियाँ पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार गत १८ चैतदेखि असार मसान्तसम्म २ हजार आठ सय ३७ चिनियाँ पर्यटक रसुवागढी नाका भएर नेपाल भित्रिएका छन्।
तीन महिने अवधिमा रसुवागढी नाकाबाट ४६ देशका नागरिक नेपाल भित्रिएको तथ्यांक छ। सो अवधिमा ५ हजार दुई सय ३६ महिलासहित १० हजार ६ सय ७७ पर्यटक उक्त नाका भएर नेपाल भित्रिएका अर्यालले बताए।
कोरोना अवधिभर सुनसान रहेको रसुवागढी क्षेत्रबाट चिनियाँ पर्यटक नेपाल भित्रने र अन्य देशका पर्यटक चीनतर्फ प्रस्थान गर्न थालेपछि उक्त नाकामा चहलपहल बढेको हो। पर्यटक आगमनले सीमा क्षेत्रका बासिन्दामा उत्साह थपिएको छ। रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरुङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेंसी घुम्न आउने गरेका छन्।
रसुवा–केरुङ ओहरदोहर गर्न अध्यागमन कार्यालय टिमुरेले १ सय ५० रसुवाका नागरिकलाई परिचयपत्र प्रदान गरेको छ। बसाइँ सरी आएको कागजातका आधारमा गत १८ चैतदेखि असारको पहिलो हप्तासम्म ४१ नयाँ परिचयपत्र जारी गरिएको, ३३ जनालाई प्रतिलिपि प्रदान गर्नुका साथै ७६ जनाको परिचयपत्र नवीकरण गरिएको अध्यागमन कार्यालयले जनाएको छ।
२०७२ पछिसम्म नयाँ, प्रतिलिपि तथा नवीकरण गरी तीन हजार ३ सय ३३ जनाले सीमा परिचयपत्रको सुविधा लिएका छन्। भूकम्पले रसुवागढीस्थित अध्यागन कार्यालय भत्केपछि त्यहाँ रहेका अभिलेख नष्ट भएका थिए।

