काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीको निर्देशनसँगै प्रहरीले अब संगठित अपराधको कसुरमा अनुसन्धान गर्ने भएको छ।
प्रचण्डले बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आईजीपी वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण बज्राचार्यसँग भेट गरेका थिए। यसपछि उनले सीआईबीलाई निर्देशन दिएका हुन्।
राजस्व अनुसन्धान विभागले राजस्व छलीको मुद्दामा मात्र अनुसन्धान गरिरहेको छ। यो विभाग प्रधानमन्त्री कार्यालयको मातहतको हो।
यो प्रकरणमा विभागले हालसम्म १७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। तर यो प्रकरणका मुख्य आरोपी भने पत्ता नलागेको विभागको भनाइ छ।
यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राखी संसदमा अवरोध खडा गर्दै आएको छ।


