काठमाडौँ– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार थापाले चामल आयातमा कमी भएको बताएका छन्।
शुक्रबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक थापाले आयात कम भएको जानकारी दिएका हुन्।
‘आर्थिक वर्ष ०७७/७८ मा ५ लाख ४६ हजार ८ सय ७७ मेट्रिक टन आयात भएको थियो। आव ७९/८० मा जम्मा २ लाख २५ हजार मेट्रिक टन मात्र चामल आयात भएको छ,’ थापाले भने।
महानिर्देशक थापाले आयात कम हुनुपछाडिको कारण खोजी भएको र कृषि विज्ञहरुले धान उत्पादन बढी भएको बताएको उल्लेख गरे। ‘गत वर्ष बढी धान उत्पादन बढी हुँदा चामलको आयात कम हुन आएको खुलेको छ,’ उनको भनाइ थियो।
चामल मात्र नभएर दाल र चिनीको आयात पनि प्रत्येक वर्ष कम हुन थालेको उनको भनाइ छ।


