काठमाडौंँ- सरकारले सडक सञ्जालसँगै देशका विभिन्न ठाउँमा सुरुङमार्गको अध्ययन र निर्माण कार्य अघि बढाइरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, हालसम्म देशभरका विभिन्न २ दर्जन क्षेत्रमा सुरुङमार्ग बनाउन अध्ययन भइरहेको छ। कतिपय ठाउँमा सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) बनेर पनि निर्माणको चरणमा छन्।
वि.सं २०७६ कात्तिक २ गते तीन वर्षभित्र सम्पन्न गर्ने गरी शिलान्यास भएको नागढुंगा सुरुङमार्ग अहिलेसम्म पनि पूरा हुन सकेको छैन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको उक्त सुरुङमार्ग निर्माणमा कोरोना महामारी, स्थानीयको अवरोधलगायतका कारणले समयमै सम्पन्न हुन नसकेको बताउने गरिएको छ। यद्यपि, दोस्रो पटक थपिएको म्याद २०८० असारभित्र पनि उक्त आयोजना पूरा भएन।
केही दिन पहिले नागढुंगा सुरुङको रेस्क्यु टनेलको ब्रेक थ्रु भए पनि मुख्य सुरुङ निर्माणको काम सक्न अझै एक वर्ष लाग्ने देखिन्छ। नागढुंगा सुरुङमार्गबाहेक अन्य अध्ययन र निर्माणको अन्तिम चरणमा छन्।

नागढुंगा-नौबिसे सुरुङमार्गको रेसक्यु टनेल ब्रेक थ्रु भएपछि खुशीयाली मनाउँदै भौतिक पूर्वाधारमन्त्रीलगायत। फाइल तस्बिर
चालू आर्थिक वर्ष २०८०/०८१ सम्म आइपुग्दा सरकारले १९ वटा सुरुङमार्गको अध्ययन र ४ वटा निर्माणका लागि प्रक्रिया अघि बढाएको छ।
सुरुङमार्गको अध्ययन र निर्माणका लागि ठूलो बजेट आवश्यक पर्छ। तर, सरकारले सुरुङमार्ग निर्माणका लागि कनिँका छरेजसरी बजेट छुट्याउने गरेको छ। चालू आवको बजेटमार्फत कतिपय सुरुङमार्ग निर्माण गर्न सरकारले बजेट ‘लाख’ मा छुट्याएको छ।
सरकारले चालू आवको बजेटमार्फत सिद्धबाबा सुरुङमार्ग, धरान–लेउती सुरुङमार्ग, ग्वार्को–सातदोबाटो फ्लाइओभर, टोखा–छहरे सुरुङमार्ग निर्माणको चरणमा लैजादैँछ। तर, ती आयोजनाका लागि छुट्याएको बजेट भने ज्यादै न्यून छ।सुरुङमार्ग निर्माणको लागत अर्बौँ पर्न जान्छ। तर, निर्माणको चरणमै जाने सुरुङमार्गलाई बजेट लाखमा छुट्याएको देखिन्छ।

सिद्धबाबा सुरुङमार्ग निर्माणस्थल।
चालु आवमा सरकारले धरान–लेउती सुरुङमार्ग निर्माण सुरु गर्दैछ। तर, उक्त आयोजनाका लागि जम्मा ५० लाख रुपैयाँ मात्र बजेट छुट्याएको छ। यता, नयाँ बानेश्वर अन्डरपासको अध्ययनका लागि सरकारले १० लाख रुपैयाँ मात्र विनियोजन गरेको छ भने विपिनगर–खुटिया र गोदावरी मानचौर सुरुङमार्गको अध्ययनका लागि पनि १० लाख रुपैयाँ मात्र छुट्याइएको छ। प्रस्तावित बबइ–छिन्चु सुरुङमार्गका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने तुल्सीपुर–लुहाम सुरुङमार्ग अध्ययनका लागि २० लाख छुट्याएको छ।
प्रवास–जोर्ते(पाल्पा) सुरुङमार्गको अध्ययनका लागि ३० लाख रुपैयाँ मात्र बजेट छुट्याएको छ। निर्माण र अध्ययनका लागि लाखमा बजेट छुट्याउने सरकारले निर्माणको चरणमा लैजान सकिने ठूला सुरुङमार्ग पनि न्यून बजेट विनियोजन गरेको छ।
रुपन्देही–पाल्पा सडकखण्डअन्र्तगत पर्ने सिद्धबाबा सुरुङमार्गका लागि ४५ करोड रुपैयाँ मात्र छुट्याएको छ। उक्त सुरुङमार्गको अध्ययन र डिपीआर सकेर यस वर्षदेखि निर्माण सुरु हुँदैछ।
निर्माण भइरहेका सुरुङमार्ग समयमै सम्पन्न नहुने र पहिचान र प्रस्ताव गरिएका सुरुङमार्ग निर्माण प्रक्रियामा जान सकेका छैनन्। २ वर्षअघि नै निर्माण थाल्ने भनिएका सिद्धबाबा, लामाबगर–ल्याप्चे र धरान–देउती सुरुङमार्ग अहिलेसम्म अघि बढ्न सकेनन्।
कतिपय सुरुङमार्गको अध्ययन र विस्तृत सम्भाव्यता अध्ययन पूरा नहुँदा निर्माण प्रक्रियामा जान सकेका छैनन् भने अध्ययन पूरा भएका सुरुङमार्ग निर्माणका लागि स्रोत जुटाउन नसक्दा निर्माण प्रक्रियामा जान सकिरहेका छैनन्।
पछिल्लो पटक मुलुकमा देखिएको आर्थिक मन्दीका कारण सरकारले पूर्वाधार विकासमा बजेट कटौती गरेको छ। फलस्वरुप, सडक र सुरुङमार्गका लागि पनि न्यून बजेट विनियोजन भएको सरकारी अधिकारी बताउँछन्।
अध्ययन गर्ने र निर्माणमा जाने सुरुङमार्गका न्यून बजेट विनियोजन भएको सडक विभागका महानिर्देशक सुशीललबाबु ढकालले नेपाल क्लिक्सलाई बताए। धेरैजसो सुरुङमार्ग अध्ययनकै क्रममा रहेको उनले बताए। नागढुंगा सुरुङमार्गको मुख्य सुरुङतर्फको काम चालू आवभित्र सम्पन्न हुने उनले बताए। सिद्धबाबा सुरुङमार्ग निर्माण आगामी आवदेखि औपचारिक रूपमा सुरु हुने उनी बताउँछन्।
तीबाहेक केही सुरुङमार्ग अध्ययनको अन्तिम चरणमा रहेको र केही अध्ययनकै चरणमा रहेको उनको भनाइ छ।राजनीतिक दल सरकारमा गएपछि लोकप्रियताका लागि मात्र सुरुङमार्गको ‘प्रोपागान्डा’ मच्याउने गरेको विज्ञहरु बताउँछन्। पुराना राष्ट्रिय राजमार्गका खण्डहरु सुरुङ नबनाउने गरी रेखांकन गरिएकाले खर्चिलो विकास आवश्यक नरहेको पूर्वाधारविद् डा. सूर्यराज आचार्य बताउँछन्।
‘अहिले हाम्रा पुरानै राजमार्गका सडकखण्डमै सुरुङ बनाउने भनेको छ, त्योचाहिँ उपयुक्त नहुन सक्छ। त्यो पनि केस हेरीकन हुन्छ,’ उनले भने, ‘किनकि राजमार्गको रेखांकन गर्दा सुरुङ प्रविधि नबनाउने गरी गरिएको हुन्छ, लामो दुरीमा। तर, अहिले ती लामा राजमार्ग खण्डमा अर्बौं खर्च गरेर सुरुङमार्ग बनाउने कुरा त उपयुक्त भएन नि!’
धेरैजसो सुरुङमार्ग अध्ययनकै क्रममा रहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल बताउँछन्। नागढुंगा सुरुङमार्गको मुख्य सुरुङतर्फको काम चालु आवको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए। सरकारले चालू आर्थिक वर्षमा सुरुङमार्ग विकास कार्यक्रमअन्र्तगत कुल १ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ।
यी हुन् अध्ययन र निर्माणको चरणमा रहेका सुरुङमार्ग परियोजनाहरु




