गण्डकी–गण्डकी प्रदेश सरकारले पछिल्लो पाँच वर्षमा ९० लघु जलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ। ती आयोजनाबाट १५ हजार ४ सय ४० घरधुरी लाभान्वित भएको मन्त्रालयको ऊर्जा शाखाका इन्जिनियर जीवन श्रेष्ठले बताए।
उनका अनुसार प्रदेशमा झन्डै चार सय लघु जलविद्युत् आयोजना छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत तीन सय ७१ र बाँकी अरु संस्थाले निर्माण गरेका आयोजना छन्। सौर्य ऊर्जा र लघु जलविद्युत्बाट प्रदेशको तीन दशमलव ८२ प्रतिशत जनसंख्यामा बिजुली पुगेको छ।
प्रदेश सरकारले आफ्नै लगानीमा मनाङको नासो गाउँपालिकामा ३० किलोवाटको भीमताङ लघु जलविद्युत् आयोजना निर्माण गरिरहेको ई. श्रेष्ठले जानकारी दिए। ९८ किलोवाटको स्याङ्जाको पुतपुते खोला लघु जलविद्युत् आयोजनाको बिजुली पनि गत वर्ष राष्ट्रिय प्रसारण लाइनमा जोडिएको मन्त्रालयले बताएको छ।
राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि बागलुङलगायत जिल्लाका केही लघु जलविद्युत् आयोजना बन्द भएका छन्। केही मर्मतसम्भारको पर्खाइमा छन्। ती आयोजनाको बिजुलीलाई मिनिग्रिड बनाएर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना पनि अलपत्र परेको छ।
राष्ट्रिय प्रसारण लाइन र नवीकरणीय ऊर्जामार्फत गरी प्रदेशका ९९ दशमलव ५० प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको ई. श्रेष्ठले बताए। प्रदेश सरकारले चालू आवभित्रैमा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको तयारी अघि बढाएको छ। बाँकी रहेका शून्य दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली लैजाने कार्य भइरहेको जनाइएको छ।
पछिल्लो आर्थिक सर्वेक्षणअनुसार दुई हजार आठ सय ८४ घरधुरीमा मात्र विद्युत् नपुगेको देखिएको ई. श्रेष्ठले बताए। बागलुङ, तनहुँ र नवलपुरका केही ठाउँमा विद्युत् सेवा पु¥याउन बाँकी रहेको मन्त्रालयले जनाएको छ। ऊर्जा शाखाका अनुसार पाँच लाख ७४ हजार सात सय ९८ घरधुरी विद्युत् सेवाको पहुँचमा छन्।
यसमध्ये राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघु जलविद्युत्, नवीकरणीय ऊर्जा आदिको छ। राष्ट्रिय प्रसारण लाइनमा नजोडिएका मुस्ताङ, मनाङ, म्याग्दी र गोरखाका सात स्थानीय तहका एक हजार दुई सय पाँच घरधुरीमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य ऊर्जा जडान गरिएको मन्त्रालयले जनाएको छ।
संस्थागत सौर्य ऊर्जा जडान कार्यक्रमबाट विभिन्न जिल्लामा गरी कूल एक सय ६२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको छ।



