प्रिय नेयमार!
तिम्रो देश ब्राजिलबाट १५ हजार ३ सय ४८ किलोमिटर, तिमी रहेको सहर पेरिसबाट ७ हजार २ सय ३१ र तिमी आउन लागेको सहर रियादबाट ३ हजार ८ सय ५२ किलोमिटर टाढा रहेको काठमाडौँबाट अन्तस्करणीय नमस्ते!
अक्सर मेरा औंला राजनीतिक समाचार कुँध्न किबोर्डमा कुदिरहन्छन्। तर अहिले यिनै औँलाहरू तिम्रो विगत, वर्तमान र आगतको एउटा कोलाज दिल र दिमागमा राखेर यो ‘प्रेमपत्र’ कोरिरहेका छन्।
प्रेम भनेको समर्पण र प्रतिबद्धता हो नै। साथसाथै केही गुनासो, केही अपेक्षा र केही आत्मस्वीकृति पनि त हो। त्यसैले एउटा निर्मम प्रशंसकका हिसाबले म तिम्रो निर्णयप्रति सततः असहमत छु। तिमी मेरो भूगोलदेखि अलिक नजिक रियाद आउँदै गरे पनि म तिम्रो खेलको साख र प्राप्तीको ग्राफ धेरै लामो होस् भन्ने चाहन्छु।
मेस्सी र रोनाल्डोको जादुमयी युगमा तिमीले फुबटल खेल्यौ। यो त्यस्तो युग हो जसमा विश्वभरका फुटबल समर्थक मेस्सी र रोनाल्डोका नाममा दुई ध्रुवमा विभाजित छ। तिम्रा समर्थक त अपवाद हुन्। जसले तेस्रो ध्रुवको प्रतिनिधित्व गर्दै तिम्रो समर्थन गर्छन्। तिमीलाई मनपराउने जो कोहीको इच्छा थियो- तिमीले फेरि एकपटक च्याम्पियन लिग जितेको हेर्ने, बालोन डि’ओर जितेको हेर्ने, राष्ट्रिय टोलीलाई विश्वविजेता बनाएको हेर्ने। अर्थात् एकपट तिमी विश्वको उत्कृष्ट खेलाडी बनेको हेर्ने। सायद तिम्रो पनि सपनाको घनचक्कर यसरी नै घुमेको थियो होला। तर, ३१ वर्षको उमेरमै तिमीले जसरी युरोप छाड्ने निर्णय लियौ, त्यो म जस्ता समर्थकका लागि सुखद् थिएन/होइन।
तर मैले भनेँ- म निर्मम शुभेच्छुक हुँ। निर्मम प्रशंसकहरू आफ्ना खेलाडीका अप्रत्याशित निर्णय र रणनीतिलाई स्वीकार्छन्। तिमीले साउदीको अल-हिलाल क्लबलाई आफ्नो गन्तव्य बनायौ। अबको २ वर्ष साउदी प्रो-लिगमा तिम्रो खेलको हेर्नुबाहेक अर्को विकल्प पनि त रहेन। तिम्रो यो निर्णयलाई कसैले धोकाका रूपमा व्याख्या गर्लान्, कसैले पैसाको लोभी भन्देलान्, कोहीले तिम्रो खेलको स्तरमा प्रश्न उठाउला। तर, यूरोपेली क्लबमै बसेर एकपटक च्याम्पियन्स लिगको ट्रफी उठाएको हेर्ने मेरो सपनालाई अलग गरेर मैले तिमीलाई शुभकामना भनिरहेको छु।

खासमा तिमीलाई मैले नजिकबाट नियालेको र मन पराउन थालेको सन् २०१४ को विश्वकपबाट हो। त्यो बेला तिमी टिमका प्रमुख खेलाडी थियौ। मलाई लाग्थ्यो- त्यो विश्वकप तिमीले नै जित्ने छौ। तर, मेरो इच्छा, आशा र विश्वासले हुने केही थिएन।
सन् २०१४ जुलाई ४ का दिन विश्वभरका समर्थकले कोलम्बिया विरुद्ध तिम्रो खेल हेरिरहेको थिए। खेलको ८८ औं मिनेटमा तिमीले गम्भीर चोटको सामना गर्यौ। जसले त्यो विश्वकपमा तिम्रा लागि पूर्णविराम बन्यो। मैदान छाड्दा तिम्रो आँखाबाट आँसुका ढिक्का खसेका थिए। त्यो हेर्दैगर्दा मेरा आँखा पनि समभावमा बगे। मलाई लाग्यो, लालित्यपूर्ण फूलको थुँगा तीव्र हुन्डरीमा मडारिँदै कठोर अक्करे भीरमा ठोक्कियो। र, घाइते भयो।
एउटा गहिरो सन्नाटा, विरक्तलाग्दो शंसय र साह्रै नमीठो भाव एकैपटक अनुभूत भयो।
त्यहीबेला भगवानलाई कयौं पटक तिम्रो स्वास्थ्यका लागि पुकारेँ। तिम्रो ढाडमा लागेको चोटका कारण मेरो मनका लागेको चोटले मल्हम लगाउन नपाउँदै अर्को चोट थपियो। सेमिफाइनलमा तिमी अस्पतालको बेडमा हुँदा तिम्रो टोली जर्मनीसँग ‘नजितिने’ युद्ध लडिरहेको थियो। ७ गोल खाएर घरमै भएको विश्वपकपबाट बाहिरिँदाको पीडा सम्झँदा अहिले पनि कता-कता मन चुँढिन्छ, वेग हानेको चंगा चुँढिएझैँ।
प्रतिस्पर्धी टिमका समर्थकका लागि त्यो खेल अहिले पनि काखी बज्ने खरी बनिरहेको छ। पेलेको जीवनी कलिलो उमेरमा पाठ्यक्रममा पढेदेखि नै ब्राजिलको समर्थक बनेका र ब्राजिलको खेल शैलीका कारण प्रसंशक बनेकाहरूलाई त्यो खेल कहिल्यै बिर्सन नसक्ने तितो तथ्य बन्न पुगेको छ। खैर, त्यो विश्वकप चोटैचोटमा बित्न पुग्यो। तिमी मैदानमा पुनः फर्कने आशा र अपेक्षाबाहेक अरु के नै पो गर्न सकिन्थ्यो र? विरोधीहरूले ७ नम्बर र पहेँलो रंग देखाएर गिज्जाएकै थिए, सहनै पर्यो।

तर, तिमीले चोटलाई जितेर मैदान फर्किएको दिन सारा पीडा हरायो। २०१४/१५ को सिजनमा तिमी हरेक खेलमा देखाउन जादुले रोमाञ्चित भइन्थ्यो। त्यही सिजन त हो, बार्सिलोनाले ट्रेबल जितेको। तिमी खेल्ने क्लबले प्राप्त गरेको त्यो सफलताले विश्वकपमा अनुहार देखाउन नहुने गरीको लज्जास्पद हारलाई मल्हमपट्टी लगाइदियो।
सन् २०१८ को विश्वकपका लागि मनमा सपना अंकुराउन थालिहाले। २०१६ मा ला लिगा जित्दा पनि तिम्रो प्रदर्शनबाट खिन्न हुने ठाउँ थिएन। २०१६/१७ को सिजनमा पीएसजीविरुद्धको त्यो खेल म कसरी बिर्सन सक्छु र? मसँग भएको एउटा दिल तिमीले फेरि अर्को पटक जितेका थियौ। मार्च ९ को मध्यरातमा क्याम्प नाउमा जे भयो, तिमीले जे गर्यौं, अविस्मरणीय क्षण थियो। च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पीएसजीविरुद्ध ४-० को हारलाई उल्टाएर ६-५ को शानदार जित। अहो! अहिले सम्झँदा पनि आङ सिरिङ्ग भइदिन्छ।
तिम्रो खेल हेर्न कयौँ रात अनिधो बसेको छु। एक्लै खेल हेर्दा बहुलाझैँ मध्यरातमा कयौँ पटक चिच्चाएको छु, कराएको छु। टिम हार्दा वा तिम्रो प्रदर्शन खस्कँदा तालुमा हात लगाएर सुस्ताएको छु, जागै रात कटाएको छु। खैर! यो तिम्राप्रति मैले लगाएको गुन होइन, यो त तिमीप्रतिको अगाध प्रेमबाट सिर्जित संवेग न हो।
सन् २०१७, तिम्रो करियरको महत्त्वपूर्ण साल। त्यही वर्ष त हो, तिमीले बार्सिलोनाबाट बाटो मोडेको। विश्वको सबैभन्दा महँगो सरुवा शुल्क २२२ मिलियन यूरोमा पीएसजीमा अनुबन्ध हुने निर्णय मेरा लागि प्रिय थिएन। म चाहन्थेँ- तिमी बार्सिलोनामै बस्नुपर्छ। मेस्सी र लुइस स्वारेजसँग मिलेर युरोपेली फुटबलमा जादु गरिरहनुपर्छ, हामी जस्ता समर्थक तिम्रो जादुमा मन्त्रमुग्ध भइरहन पाउनुपर्छ। तर तिम्रा पिता र तिम्रो निर्णयका अघि समर्थकको इच्छाको के अर्थ? बार्सिलोनादेखि पेरिससम्मको यात्रा मन अमिलो बनाएर टुलुटुलु हेर्ने बाहेक समर्थकले के नै पो गर्न सक्थे र?

खैर!बार्सिलोनालाई मुटुको कुनै कुनामा खुम्चाएर पीएसजीलाई ‘लभ’ गर्नु मेरा लागि बाध्यताशिवाय केही थिएन। त्यो बेला तिम्रा आलोचकहरूले पैसाका पछि दौडिएको आरोप लगाइरहे। कतिले तिम्रा लागि पीएसजी सुनको पिँजडा सावित हुने तर्क गरिरहे। तिम्रो आलोचना, विरोध र तिमीमाथि हुने व्यंग्य कतै न कतै सुनिरहन पर्यो। ती तमाम, आरोप, विरोध, व्यंग्य र आलोचनाको जवाफ तिमीले मैदानबाटै फर्काउने अपेक्षाबाहेक के नै पो गर्न सकियो र? तर, आजको स्थिति हेर्दा पीएसजी तिम्रा लागि सुनको पिँजडा त सावित भयो नै। पीएसजीमा ६ सिजन बिताउँदा तिमीले हरेक सिजन चोट बोक्यौ। तिमीलाई चोट लाग्दा मन दुखेको छ। तिम्रा हरेक चोटलाई सहन नसकेर आशुँ बग्थ्यो.. बस सम्हालिन्थेँ।
सन् २०१८ मा रसियामा भएको विश्वकपमा तिम्रा थुप्रै ट्रोल बने। मध्य सिजनमा बोकेको चोटबाट राम्ररी ठीक नहुँदै तिमी मैदान फर्किएका थियौ। पटक-पटक बल्झिरहने खुट्टाको चोटले पिरोलिरहने तिमी देशलाई विश्वकप जिताउने सपना बोकेर रसिया पुगेका थियौ। त्यो विश्वकप तिम्रा लागि, तिम्रो देशका लागि र हामीजस्ता समर्थकका लागि २०१४ मा लागेको दाग मेटाउने सुनौलो अवसर थियो। तिमी हरेक पटक विपक्षीको ट्याकलमा पर्दा छटपटाउँथ्यौ। धेरैले तिम्रो पीडालाई नाटक भने। धेरैले तिमी मैदानबाट गुड्किएर नेपाल आइपुगेको, यूरोप पुगेको, ब्राजिल पुगेको ट्रोल बनाए। म भने त्यसलाई नाटक मात्र मान्न सक्दिनँ। त्यसको अन्तर्यमा पीडाको अहम् हिस्सा थियो त्यो। खैर! रसिया विश्वकप पनि हाम्रा लागि ‘रातभरि रुँघ्यो, … त जिउँदै’ भनेझैँ बन्यो।
सन् २०१९ मा ब्राजिलले विश्वकपमा व्यहोरेको पीडा कोपा अमेरिका जित्दै भुलायो। तर, नियतिले तिमीले ट्रफी बोकेर झुम्न पाएनौ। चोटका कारण तिमीले प्रतियोगिता खेल्न पाएनौ। चोट नै तिम्रो खेल जीवनको सबैभन्दा ठूलो अभिशाप बन्न पुग्यो। त्यसमा तिमीले रोजेको बाटो पनि कारक हुन सक्ला कि!

सन् २०२० मा तिमीसँग दोस्रो च्याम्पियन्स लिग जित्ने अवसर थियो। तर, फाइनलमा बार्यन म्युनिखसँग तिम्रो टोली पीएसजी हार्न पुग्यो। हातमा आइसकेको ट्रफी फुत्कँदा तिमीले आँशु थाम्न सकेनौँ। टिम मेटले नै सम्हाल्न नसक्ने गरी तिमी भक्कानिएको दृश्यले म मुटु छियाछिया भयो…सम्हालिएँ।
उसैगरी २०२१ को कोपा अमेरिकामा अर्जेन्टिनाविरुद्ध फाइनल हार्दा पनि तिम्रा आँशु रोकिएनन्, मैले पनि मन थाम्न सकिनँ। तर तिमीले आफ्ना प्रिय साथी मेस्सीले जितेको पहिलो अन्तर्राष्ट्रिय ट्रफी जित्दा देखाएको व्यवहारले फेरि मेरो मन जितेका थियौ। कोपा अमेरिका नजितेर के भयो त! कतार विश्वकप त जितिएला नि भन्ने आशा थियो। तर, कतारमा क्रोएसियाविरुद्धको क्वार्टर फाइनलमा पेनाल्टीमा पराजित भएपछि अर्को पटक रुन बाध्य भइयो। भनिन्छ, हरेक असफलताबाट नै सफलताको यात्रा सुरु हुन्छ। हारसँग हारेर अघि बढ्न सकिन्न, जुध्न सके मात्रै सफल भइन्छ। तिमीले के सोच्यौ थाहा छैन, तर मैले आफूलाइ सान्त्वना दिन यस्तै सोचेँ।
सन् २०२४ को कोपा अमेरिका र सन् २०२६ को विश्वकपमा तिमीले खुसी दिने अपेक्षा आजका दिनसम्म पनि मनमा टुसाएकै छ। चोटैचोटले थलिएका तिमीलाई अब चोट लाग्ने छैन, युरोपेली फुटबलमा फेरी एकपटक तिम्रो जल्वा हेर्न पाइन्छ अनि २०२६ मा विश्वकप जितेर तिमीले सन्यास लिने अपेक्षा थियो मेरो। तर, तिमी युरोपेली फुटबलबाट नयाँ किनारको माझी बन्यौ। तिमी बार्सिलोना जाने चर्चा निकै दिन चल्यो। त्यो चर्चा चलिहँदा म २०१५ तिर फर्किएर रोमाञ्चित भइरहेको थिएँ। खै! किन हो तिमी साउदी जाने भयौ। यस्तोमा तिमीमाथि पुनः पैसाका पछि दौडिएको आरोप लागिरहेको छ। तिम्रो करियर सकिएझैँ गिज्याउनेहरू पनि उत्तिकै छन्।

कतिपयले तिम्रो यो निर्णयलाई करियरकै खराब मान्नेहरू पनि छन्। विश्वकप जित्ने सपना बुनेका तिमी र तिम्रा समर्थकका लागि साउदी जाने निर्णय ‘काशी जानु कुत्तिको बाटो’ बराबर पनि हुन सक्छ! तर, तिमी भने नयाँ चुनौतीसामु आफूलाई परीक्षण गर्न अल-हिलाल जाने निर्णयमा पुगेको बताइरहेका छौँ। तिमीले भनेका छौ, ‘म खेलकुदमा नयाँ इतिहास लेख्न चाहन्छु।’
तिम्रो यो निर्णय मेरा लागि जति अप्रिय भएपनि स्वीकार्नुको विकल्प छैन। किनकि म तिम्रो जर्सी किनेर डस्बिनमा मिल्काउने समर्थक होइन। तिमी कठिन स्थितिमा रहँदा गालीको वान्ता गर्ने समर्थक पनि होइन। तिमी त मेरा लागि इमोसन हौ, आइडल हौ, मलाई रोमाञ्चित बनाउने मनोरञ्जक हौ। तिमीप्रतिका कयौं गुनासालाई हृदयको कुनामा थन्काएर अन्तिममा भन्न चाहन्छु-तिमीलाई चोटले नपिरलोस्, प्रो-लिगमै सही जादुयी प्रदर्शन कायम राख्नू। सन् २०२६ लाई मिसन बनाउनू। र तिमीले भनेझैँ खेलकुदमा नयाँ इतिहास कोर्नू। शुभकामना नेयमार!
उही तिम्रो समर्थक
तीर्थराज बस्नेत, नेपाल

