काठमाडौं– बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले विवादस्पद अभिव्यक्ती दिएका छन्। उनले नेपाल भारतको अभिन्न अंग भएको बताएका हुन्।
शुक्रबार काठमाडौं आएका शास्त्रीले एक कार्यक्रमलाई सम्बोधन गर्दैै सनातन हिन्दू धर्मको पक्षमा नेपाल र भारतसँगसँगै रहेको दाबी गरे।
सम्बोधनमा उनले नेपाल भारतको मित्र देश भएको चर्चा गर्दै भारतसँग काँधमा काँध मिलाएर पूरा संसारमा सनातनको झण्डा फैलाउने देश भएको बताए।
उनले भने, ‘यो यस्तो भक्तिको भूमि हो। माता जानकीको नगरी हो। नेपाल भारतको एक अभिन्न अंग, भारतको मित्र देश हो। भारतसँग काँधमाकाँध मिलाएर पुरा संसारमा सनातनको झण्डा फैलाउने देश हो।’ शास्त्रीले नेपाल भन्दा सनाथ अरु कुनै राष्ट्र नभएको बताए।
उनले भने, ‘अनाथ त्यो हुन्छ जसको कोही नाथ छैन । कसले भन्छ नेपाल अनाथ हो भनेर नेपालमा पशुपतिनाथ छ ।’ चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा भदौ २ देखि ४ गतेसम्म नवलपरासीस्थित शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न बागेश्वर बाबा नेपाल आईपुगेका हुन् ।
बागेश्वरधाम सरकारका नामले चर्चित शास्त्री निकै विवादास्पद व्यक्ति हुन्। उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको पक्षमा प्रवचन दिँदै आएका छन्।
