काठमाडौँ- सरकारले राष्ट्रिय गौरव आयोजनाका रुपमा अघि बढाएको हुलाकी राजमार्ग निर्माणको सुरुवात १३ वर्षअघि सुरु गरियो। आर्थिक वर्ष २०६६/०६७ देखि निर्माण सुरु भएको सडक आयोजना अहिलेसम्म पनि सम्पन्न हुन सकेको छैन।
५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण अघि बढाइएको गौरवका उक्त आयोजना अहिले १३ वर्ष हुँदा पनि पूरा हुन सकेको छैन। हालसम्म करिब ७० प्रतिशत मात्र निर्माणको काम सकिएको आयोजनाले जनाएको छ। बाँकी काम अझ ढिला गर्न ठेकेदारहरूले नयाँ बाहना पनि पहिल्याएकाले काम निर्धारित मितिमा सम्पन्न नहुने निश्चितप्रायः छ।
कुल १ हजार ७९२ किलोमिटर सडकमध्ये हालसम्म १ हजार १९० किमी सडक मात्र कालोपत्रे भएको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ।
पछिल्लो पटक भने मुलुकमा उत्पन्न आर्थिक मन्दीको असरका कारण आयोजनाको काम प्रभावित भएको बाहना बनाउन थालिएको छ। देशमा आएको आर्थिक मन्दीका कारण ठेकेदार कम्पनीलाई आर्थिक समस्या परेकाले काम तीव्र गतिमा हुन नसकेको भनेर आयोजना कार्यालय बताउन थालेको छ।
मन्दीका कारण ठेकेदार कम्पनीहरूले सोचेअनुसार काम गर्न नसकेका कारण उसको आम्दानी प्रभावित भएको, आम्दानी प्रभावित हुँदा उसले भुक्तानी गर्न नसकेको र भुक्तानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाएको गुनासो ठेकेदारले गर्दै आएको छ। त्यसलाई मजाले सुनिदिएर आयोजना कार्यालयले जानाजान निर्माणको काममा आयोजना कार्यालयले ढिलाइ गरिरहेको हो।
विगतमा विभिन्न आरोह र अवरोहका कारणले परियोजना निर्माणमा ढिलाई भएको आयोजना निर्देशक शुभराज न्यौपानेले बताए। केही समयदेखि निर्माण कम्पनी आर्थिक मन्दीको मारमा परेको उनको भनाइ छ।
सीमित बजेटका कारण पनि आयोजना निर्माणका काम भने निरन्तर भइरहेको जिकिर उनको छ। गत आर्थिक वर्ष २०७९/०८० मा आयोजनाका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेकोमा झन्डै ७५ प्रतिशत खर्च भएको थियो।
हुलाकी राजमार्ग आगामी आव २०८०/८१ सम्म निर्माण गरिसक्ने सरकारको योजना छ। तर, अझै पनि जग्गा विवाद, निकुञ्जमा पर्ने राइट अफ वेको समस्या र स्थानीयको अवरोधका कारणले तोकिएको समयभित्र सम्पन्न नहुने देखिन्छ।
अवरोध र निकुञ्जको झमेला कायमै
हुलाकी राजमार्ग निर्माणको सम्पूर्ण काम सम्पन्न हुन अझै ३/४ वर्ष लाग्ने आयोजनाकै कर्मचारी बताउँछन्। कारण, सडक मर्मत र विस्तारका क्रममा केही झमेला र समस्या अझै समाधान हुन नसकेको छैन।
जस्तो कि, सुनसरी, कपिलवस्तु र धनगढीलगायतका क्षेत्रमा सडक विस्तार र मर्मत कार्य अघि बढ्न सकेको छैन। ती क्षेत्रमा स्थानीयको अवरोध पहिलेदेखि रहँदै आएको छ।
यता, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै सडक विस्तार गर्न रेखाङ्कन परिवर्तन गर्नुपर्ने छ। निकुञ्ज क्षेत्र हुँदै सडक रुट लैजाँदा जंगली जनावर र वन क्षेत्रलाई असर गर्ने भन्दै वन मन्त्रालयले स्वीकृति दिएको छैन। निकुञ्ज छलेर रुट परिवर्तन गरेपछि मात्र वन मन्त्रालयबाट स्वीकृत पाइने आयोजनाले जनाएको छ।
स्थानीयको अवरोध र निकुञ्ज क्षेत्रमा गरी कुल २११ किलोमिटरमा अहिले ठेक्का लाग्न नसकेको न्यौपानेले बताए। २११ किलोमिटरबाहेक अन्य सडक सञ्जालको काम १ वर्षभित्र सम्पन्न हुने उनको भनाइ छ।
हुलाकी राजमार्गअन्तर्गत विभिन्न ठाउँमा २१९ पुल निर्माण गर्नुपर्ने छ। जसमध्ये हालसम्म १५० भन्दा बढी पुल निर्माण भइसकेको आयोजना पक्षले जनाएको छ। कतिपय पुल निर्माणधीन अवस्थामा छन् भने कतिपय पुलको ठेक्का लाग्न अझै बाँकी छ।
कुल ६५ अर्ब २० करोड रुपैयाँमध्ये हालसम्म आयोजनाको ५८ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। नेपाल सरकारको ५७ अर्ब २० करोड र भारत सरकारको ८ अर्ब रुपैयाँ उक्त आयोजनामा संयक्त लगानी रहेको छ।



