काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ सुरक्षाका नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले शुक्रबार ९ वटा मापदण्ड स्वीकृत गरेका हुन्।
नयाँ मापदण्डमा वायुसेवा सञ्चालन गर्न चाहने कम्पनीसँग कम्तीमा ३ वटा जहाज हुनुपर्ने व्यवस्था छ। यस्तै पाँच वर्षभित्रमा जहाजको संख्या ५ वटा पुर्याउने प्रतिबद्धतासमेत गर्नुपर्ने उल्लेख छ।
यस्ता छन् प्राधिकरणका नयाँ मापदण्डः
१. वायुसेवा सञ्चालन गर्न चाहने नयाँ कम्पनीहरुसँग न्यूनतम ३ वटा जहाज हुनुपर्ने।
२. सबै वायुसेवा कम्पनीहरुले आगामी ५ वर्षभित्रमा जहाजको संख्या न्यूनतम ५ वटा बनाउनुपर्ने। प्राधिकरणलाई मर्जर नीति स्वीकार्य हुने।
३. वायुसेवा कम्पनीका अध्यक्ष, शेयर लगानीकर्ता, कार्यकारी निर्देशक, एकाउन्टेबल मेनेजर तथा पोस्ट होल्डरहरुले प्राधिकरण तथा नेपाल सरकारका नीति तथा कार्यहरु विपरीतका क्रियाकलाप सञ्चालन गर्न एवम् सो सम्बन्धमा आफ्ना धारणाहरु सार्वजनिक रुपमा व्यक्त गर्न नहुने।
४. वायुसेवा कम्पनीका एकाउन्टेबल मेनेजर तथा पोस्ट होल्डरहरुले कम्पनीसाग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वार्थ बाझिने प्रकृतिका गतिविधि एवम् व्यवसायिक कार्यहरु (जस्तैः टुर्स एण्ड ट्राभल्स) आदिमा संलग्न हुन नपाउने।
५. वायुसेवा कम्पनीका अध्यक्ष, शेयर लगानीकर्ता, कार्यकारी निर्देशक तथा एकाउन्टेबल मेनेजरले प्राधिकरणद्वारा प्रदान गरिएको सीपीएल, एटीपीएल वा एएमएल लाइसेन्स प्राप्त गरेको भए सो को अभ्यास व्यवसायिक उडान वा मर्मतसम्भार गतिविधिमा गर्न नपाउने।
६. पाइटलले उडानबाहेक अन्य व्यावसायिक गतिविधिमाा संलग्न रहन नपाउने।
७. नो अब्जेक्सन सर्टिफिकेट प्राप्त गरेको न्यूनतम पाँच वर्षको अवधिसमम शेयर लगानीकर्ताले आफ्नो शेयर बिक्री वा हस्तान्तरण गर्न नपाउने।
८. प्राधिकरणको स्वीकृति बिना कुनैपनि सरकारी स्वामितव प्राप्त एवम् निजी वायुसेवा कम्पनीहरुले एकाउन्टेबल मेनेजर तथा पोस्ट होल्डरहरु नियुक्ति गर्न नपाउने।
९. प्राधिकरणले वायुसेवा कम्पनीहरुको एकाउन्टेबल मेनेजरको नियुक्ति, आवश्यक न्यूनतम योग्यता, अनुभव तथा अख्तियारी सम्बन्धमा कार्यविधि जारी गरेको।
