जनकपुरधाम- मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दामा उनी सोमबार दिउँसो राजविराज नगरपालिका-७ बाट पक्राउ परेका हुन् ।
सांसद यादव सप्तरी क्षेत्र नं ४ (ख)बाट प्रत्यक्षतर्फ स्वतन्त्र रूपमा निर्वाचित हुन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी प्रवीण पोखरेलका अनुसार उनीविरुद्ध २०६४ सालमा भएको हत्या घटनाको मुद्दा परेको छ। हालसम्म उनी फरार थिए।
सांसद यादवकै निर्देशनमा तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप छ। तत्कालीन बोदेबर्साइन गाविस–४ बाट २०६४ असार ९ गते अपहरण गरी नेङ्गडा गाविस–५ वैरिया टोलमा पुर्याई गोली हानी चौधरीको हत्या भएको थियो।
मृतककी दिदी रिताकुमारी चौधरीको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। रीताले २०६४ असार १४ गते यादवसहित नौ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा भएको आदेश अनुसार यादवलाई पक्राउ गरिएको हो। सांसद यादवलाई सोमबार जिल्ला अदालत सप्तरीमा हाजिर गराइएको छ। उनलाई मुल्तवीमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।


