काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा सोलार जडान गर्दा सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस रकम लिएको पाइएको छ। सप्तरी जिल्ला विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जनाले घुस रकम लिएको देखिएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
गाउँकार्यपालिकाको कार्यालयमा कार्यरत लेखापाल टेकनारायण यादवले सेवाग्राहीसँग घुस रकम डिल गरेका थिए। सोलार बत्ती जडान गर्दा गाउँपालिका अध्यक्षसँग मिलेमतो गरी घुस रकम माग भएको देखिएको अख्तियारको अनुसन्धानमा देखिएको छ।
यसरी घुस रकम माग गरिएपछि अख्तियारमा उजुरी परेको थियो। इटहरीबाट गएको अख्तियार टोलीले यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो। उनीहरू रंगेहात पक्राउ परेका थिए। पछि यो प्रकरणमा अध्यक्ष यादवको समेत संलग्नता देखिएपछि तीनै जनाका विरुद्ध मुद्दा दायर भएको हो।
उनीहरूले दुई लाख रुपैयाँ घुस रकम लिइसकेका थिए भने तीन लाख रुपैयाँको चेक पनि लिएका थिए। नगद र चेकसमेत लिइसकेको अवस्थामा साउन ३१ गते नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई ५ लाख बिगो कायम गरी बिगो र सोही बराबरको जरिमाना असुली गर्न मागदाबी गर्दै अख्तियारले विशेषमा मुद्दा दायर गरेको छ।


