काठमाडौं– लम्पीस्किन रोग संक्रमणबाट हालसम्म ५२ हजार ५४८ पशुको मृत्यु भएको कृषि तथा पशुपक्षीमन्त्री वेदुराम भुसालले विवरण प्रस्तुत गरेका छन्। लम्पीस्किनबाट हालसम्म १५ लाख १९ हजार ७७९ पशु संक्रमित भएको सरकारी तथ्यांक उनले प्रस्तुत गरे।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको दाबी गरे। मन्त्रलयका अनुसार हालसम्म १३ लाख ८३ हजार ५९५ पशु उपचारपछि निको भएका र अहिले बिरामी अवस्थामा ७३ हजार ६३६ रहेका छन्।
मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण गर्ने सरकारको नीति भएको बताए। यो नीति प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ७७ वटै जिल्लामा सञ्चालित भएको उनले जनाए। ‘माटो परीक्षण, रोग, कीरा परीक्षण, रोग निदानका साथै किसान, कृषि फार्म, कृषक समूह, सहकारीलाई प्राविधिक तालिम दिइएको छ,’ उनले भने।


