काठमाडौँ– नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सवको तेस्रो दिनका कार्यक्रम स्थगित भएका छन्। संविधानसभाका अध्यक्षसमेत रहेका पूर्वसभामुख सुवास नेम्बाङको निधन भएपछि महोत्सव स्थगित गरिएको हो।
बिपी साहित्य महोत्सव तयारी समितिको बैठक पार्टीका सहमहामन्त्री एवं तयारी समितिका संयोजक बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा भाद्र २६ गते बिहान बसेको बैठकले महोत्सव स्थगित गर्ने निर्णय गरेकव कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘संविधानसभाका अध्यक्षप्रति उच्च सम्मान प्रकट गर्दै आज भाद्र २६ का लागि निर्धारित ‘बीपी साहित्य महोत्सव—२०८०’का तेस्रो/अन्तिम दिनको सम्पूर्ण कार्यक्रमहरु स्थगन गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा लेखिएको छ। यसअघि महोत्सवअन्तर्गतका दुई दिनका कार्यक्रम भने पूरा भइसकेका छन्।
बैठकले नेम्बाङप्रति श्रद्धाञ्जलि र परिवारजन, नेकपा (एमाले) पार्टी र शोकाकुल सबैमा समवेदना व्यक्त गरेको छ। भदौ २६ गते बिहान नै नेम्बाङको निधन भएको थियो। उनलाई राष्ट्रिय सम्मानसहित बिदाइ गर्ने निर्णय सरकारले गरेको छ।

