काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले गत भदौ २० गते विभिन्न ५१ वटा विद्युतीय चार्जिङ स्टेसनको एकैपटक सञ्चालनमा ल्यायो। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा नेपाल पुलिस क्लबमा पुगेर चार्जिङ स्टेसनको उद्घाटन गरे।
स्वदेशमा उत्पादिन विद्युत्को खपत वृद्धि गर्ने उद्धेश्यका साथ प्राधिकरणले ३ वर्षअघि विद्युतीय चार्जिङ स्टेसन निर्माण प्रक्रिया अघि बढाएको थियो। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण र प्राधिकरणको लगानीमा करिब ४० करोड खर्चेर विद्युतीय चार्जिङ स्टेसनको संरचना तयार गरिएको छ।
एकैचोटी ५१ ठाउँमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएसँगै नेपाल विद्युतीय सवारी र दीगो विकासको नयाँ यात्रामा प्रवेश गरेको कतिपयले बताउने गरेका छन्। त्यस्तै, कतिपयले भने इलेक्ट्रिक ट्रान्सर्पोटेसनमा नयाँ आयाम थपिएको रुपमा अर्थ लाउने गरेका छन्।
प्राधिकरणले पनि विद्युत्को खपत बढाउने गतिलो माध्यमका रुपमा यसलाई लिएको छ। सरकार र प्राधिकरणले मात्र होइन, निजीक्षेत्रले पनि इलेक्ट्रिक ट्रान्सर्पोटेसनमा जोड दिँदै आएको छ। निजी क्षेत्रबाट सुन्दर यातायात प्रालिले पहिलो पटक विद्युतीय सवारी साधन सञ्चालन गरिसकेको छ भने त्यसपछि साझा यातायात प्रालिले पनि विद्युतीय गाडी सञ्चालन गरिसकेको छ।
पेट्रोलियम पदार्थको आयातले नेपालबाट वर्षेनी ठूलो रकम बाहिरिने गरेको छ। पेट्रोलियम पदार्थ आयायतबाट हुने व्यापार घाटा कम गर्न पनि नेपालमा विद्युतीय यातायात साधन चल्नुपर्छ। यसले पेट्रोलियम पदार्थलाई मात्र विस्थापित गर्दैन, वातावरण स्वच्छ र हरित ऊर्जामा पनि उत्तिकै भूमिका खेल्छ नै। स्वदेशमा विद्युत उत्पादन क्रमिक रुपले बढ्दैछ। यहाँ जति विद्युत् उत्पादन हुन्छ, त्यसअनुसार खपत र माग बढाउँदै जान हामीले दैनिक रुपमा प्रयोग गर्ने सवारीसाधन इलेक्ट्रिक हुनैपर्छ।

हाल नेपालमा करिब २ हजार ९ सय मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा जोडिइसकेको छ। यस वर्ष करिब १५ सय मेगावाट बिजुली उत्पादन भइ ग्रीडमा थपिने सरकारको प्रक्षेपण छ। जुन, बिजुली स्वदेशमा घरेलु ग्राहक वा चीम बालेर मात्र खपत हुन सक्दैन।
खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगमा पनि सरकारले जोड दिएको देखिन्छ। पछिल्लो पटक दिन प्रतिदिन नयाँ ब्रान्डका विद्युतीय गाडीहरु नेपालमा भित्रिँदैछन्। मंगलबारबाट भृकुटीमण्डमा सुरु भएको नाडा अटो शो मा विभिन्न ब्रान्डका विद्युतीय गाडीहरुको प्रदर्शन स्टल राखिएको छ।
त्यतिमात्र होइन, प्राधिकरण र ऊर्जा मन्त्रालयका अधिकांश सरकारी कर्मचारीहरुले चढ्ने गाडी पनि विद्युतीय नै छन्। सार्वजनिक यातायात देखि पछिल्लो पटक सरकारी कर्मचारी र सबैक्षेत्रमा विद्युतीय सवारीप्रतिको आकर्षण बढेको देखिन्छ।
पछिल्लो समय सरकार र निजीक्षेत्रबाट विद्युतीय सवारी साधन प्रति लगानी र आकर्षण बढ्दै गएको प्राधिकरणका प्रवक्ता सुरेस भट्टराइ बताउँछन। विद्युतीय सवारीप्रति आकर्षण बढाउन र उत्पादित विद्युतको खपतका लागि प्राधिकरणले देशका ५१ वटा ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको उनले बताए।
‘नेपालमा विद्युत् सवारीप्रति आकर्षण बढ्दै गएको छ। सरकारले पनि विद्युतीय सवारी र यातायातमै जोड दिएको छ,’ उनले भने, ‘प्राधिकरणले पनि विद्युत् खपत बढाउनका लागि विद्युतीय सवारीमै जोड दिँदै आएको छ।’
संसारभर विद्युतीय सवारीप्रति आकर्षण बढिरहेका बेला नेपालमा नबढ्ने अवस्था नरहेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए। ‘संसारभरीमै विद्युतीय सवारीको लहर बढिरहेको अवस्थामा नेपालमा नबढ्ने कुरो भएन,’ उनले बताए।
प्राधिकरणले अध्ययन बिना संख्यात्मक रुपमा मात्र चार्जिङ स्टेसन निर्माण गरेको प्रचार गरेको टिप्पणी उनले गरे। ‘अध्ययन बिना प्राधिकरणले संख्यात्मक रुपमा मात्र देशभर चार्जिङ स्टेसन निर्माण गरेको प्रचार गयो।’ उनले भने, ‘गाडीको रुट, मापदण्ड र सुरक्षाका हिसाबमा उपयुक्त ठाउँमा चार्जिङ स्टेसन राखिएन।’
प्राधिकरणले मात्र होइन, सुन्दर यातायातले पनि काठमाडौं उपत्यकाका ५/६ स्थानमा चार्जिङ स्टेसन बनाएर सार्वजनिक विद्युत्तिय सवारी सञ्चालन गरिरहेको छ।
प्राधिकरणले सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बसहरु, माइक्रो, ट्रक, पिकअप तथा कार २५ वटामा साना/ठूला कारहरु चार्ज गर्न मिल्ने जनाएको छ।


