काठमाडौँ- सुन तस्करीमा नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको समेत कारोबार हुने गरेको पाइएको छ। नेपाल प्रहरीले गरेको अनुसन्धानले तस्करीमा संलग्नहरूले नेपालमा अवैध मानिने क्रिप्टोको पनि कारोबार हुने गरेको देखाएको हो।
‘सुनको अवैध पैठारीमा संलग्न नेपाली तथा विदेशी नागरिकहरूले अन्तरदेशीय आपराधिक संगठित सञ्जाल खडा गरी क्रिप्टोकरेन्सीसमेतबाट भुक्तानी गरेको देखिएको छ,’ ब्युरोकी एआईजी किरण वज्राचार्यले पत्रकार सम्मेलनमा भनिन्।
सम्मेलनपछि ब्युरोले जारी गरेको विज्ञप्तिमा डिजिटल वालेटहरू अलिपे, एन्टपे र ग्लोबपेबाट पनि सुनको भुक्तानी हुने गरेको देखिएको उल्लेख छ। यसरी विदेशी मुद्राको अवैध कारोबार भएकाले नेपाल राष्ट्र बैंकको समेत सहयोग लिइएको सीआईबीले जानकारी दिएको छ।
यो प्रकरणमा सीआईबीले साढे ३ अर्ब बिगो मागदाबी गर्दै ५० जनाविरुद्ध मुद्दा चलाउन सुझाव दिएको छ। साउन २ गते रेडी ट्रेडले नेपाल भित्र्याएको करिब ६१ किलो सुन बरामद भएको थियो। उक्त सुन तस्करीको अनुसन्धानका क्रममा ३०२ किलो सुन नेपाल भित्रिसकेको देखिएको छ।


