काठमाडौँ- चिकित्सा शिक्षा आयोग उपाध्यक्ष डा. अञ्जनीकुमार झाले राजनीतिक दल र चिकित्सा सम्बन्धी निजी शिक्षण संस्थाबाट अलग भएको बताएका छन्। उनी भदौ २६ गतेदेखि चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनेका थिए।
राजनीतिक दल र निजी शिक्षण संस्थामा आबद्ध रहेको भन्दै चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीले प्रश्न उठाएपछि झाले यस्तो बताएका हुन्।
उनी नेपाली कांग्रेसनिकट मानिन्छन्। बिहीबार विज्ञप्ति जारी गर्दै झाले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया सुरू हुनुअघि नै आफू राजनीतिक दलको सदस्यता त्यागेको बताएका हुन्।
‘उपाध्यक्ष नियुक्तिको प्रक्रिया सुरू हुनुअगाडि राजनीतिक दल र चिकित्सा सम्बन्धी निजी शिक्षण संस्थामा मेरो संलग्नता थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, स्वार्थको द्वन्द्व नहोस् भनेर आयोगको उपाध्यक्ष पदका लागि आवेदन दिनुअगाडि नै म राजनीतिक दलको सदस्यता र ती संस्थाको लगानी र पदीय जिम्मेवारी दुवैबाट अलग भइसकेको छु।’
देशमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर कायम राख्न मुख्य भूमिका तथा नियमनकारी निकाय चिकित्सा शिक्षा आयोग हो।
‘आयोगको उपाध्यक्षका हैसियतले कुनै स्वार्थ समूहको दबाबमा नपरी पूर्ण रुपमा नि:स्वार्थ, निष्पक्ष र जवाफदेही कार्य सम्पादन गर्ने तथा कुनै पनि खालको दबाब वा प्रभावका कारण आम नागरिकको हित हुने गरी पदीय दायित्व बहन गर्न नसकेमा कुनै पनि बेला पदत्याग गर्ने बाचा गर्न चाहन्छु,’ झाले विज्ञप्तिमा भनेका छन्।


