न्युयोर्क- परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच भेटवार्ता भएको छ। सोमबार भएको भेटमा शान्ति स्थापनाका लागि राष्ट्रसङ्घ मातहत रहेर सेवा गर्ने नेपाली सुरक्षाकर्मीहरूका विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
नेपाली सेना/प्रहरीलाई शान्ति मिसन अघिपछि दिइने तालिम, सुरक्षालगायतका विषयमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जानकारी दिएको छ।
सोमबारै परराष्ट्रमन्त्री साउदले फिनल्याण्डका वैदेशिक, व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोसँग भेट गरेका थिए। उक्त भेटघाटमा पारस्परिक चासो, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो।
यस्तै मन्त्री साउदले सोमबार नै ‘साइडलाइन’बैठकमा सर्वियाका प्रथम उपप्रधानमन्त्री डा इभिका डासिसबीच भेटवार्ता गरे। भेटका अवसरमा नेपाल र सर्वियाबीच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ।
यसैगरी परराष्ट्रमन्त्री साउदले रोमानियाकी परराष्ट्रमन्त्री लुमिनिटा टयुडोरा ओडवेस्क्युसँग पनि भेट गरेका थिए।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि नेपालका परराष्ट्रमन्त्री साउद र प्रधानमन्त्री पुष्पकमल दाहाललगायत अधिकारीहरू अमेरिकाको न्युयोर्कमा छन्।


