काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नगएर आन्दोलन अझ चर्काउने निर्णय गरेको छ। संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक, २०८० मा प्रस्ताव गरिएका व्यवस्थाको विरोधमा शिक्षकहरूले आन्दोलन चर्काउने निर्णय गरेका हुन्।
‘विधेयकले नेपाली शिक्षक-कर्मचारीका मूलभूत मागमुद्दाको सम्बोधन गरेको छैन। यसैकारण नेपाल शिक्षक महासंघ देशभरका सबै विद्यालय बन्द गरी काठमाडौँमा सडक आन्दोलन सञ्चालन गर्न बाध्य भएको हो,’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको हो।

आन्दोलन स्थगित गरेर वार्तामा आउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई सोमबार आह्वान गरेको थियो।
‘महासंघले अघि सारेका मागहरू सम्बोधन गर्न सरकार तयार नै छ,’ शिक्षा मन्त्रालयका सहसचिव भगवान अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएपनि शिक्षक महासंघका प्रतिनिधि वार्तामा गएनन्। बरु साँझमा आन्दोलन चर्काउने विज्ञप्ति जारी गरेका हुन्।

