काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलले विद्यालय शिक्षासम्बन्धी विधेयकबारे सरोकारवालाको गुनासोलाई संशोधन प्रस्तावमार्फत अघि बढाउने भएको छ।
मंगलबार र बुधबार संसद भवन नयाँ बानेश्वरमा विद्यालय शिक्षासम्बन्धी विधेयकमा बारेमा सरोकारवालासंग छलफल गर्दै कांग्रेसले विधेयकलाई आवश्यकता अनुसार परिमार्जन गर्न पहलकदमी लिने बताएको हो।
शैक्षिक पेशलाई मर्यादित, सुरक्षित र शिक्षकहरुको हक अधिकारलाई कानूनमार्फत प्रत्याभूत गर्न गम्भीर हुनुपर्ने छलफल कांग्रेस सांसद अर्जुन नरसिंह केसीले बताए।
‘कानुन बनाउदा सरोकारवालाहरुसँग बृहत छलफल गर्नुपर्ने र प्राप्त सुझावका आधारमा अन्तिम रुप दिन सरकार गम्भीर हुनुपर्छ,’ उनले भने।
छलफल पछि कांग्रेस उपसभापति समेत रहेका कानूनमन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय, शिक्षा लगाएत धेरै विधेयकहरु छलफलका क्रममा रहेको भन्दै महत्वपूर्ण विधेयकहरुलाई टुङ्गो लगाएर मात्रै अधिवेशन अन्त्य गर्न चाहेको बताए।
मुख्य सचेतक रमेश लेखकले छलफलमा आएका विचारहरुमाथि छलफल गरेर विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने बताए।
शिक्षकहरुको माग सम्बोधनका लागि संविधान संशोधन गर्न आवश्यक नरहको उनको भनाइ छ।
लेखकले लामो समयदेखि संसद अवरोध हुँदा महत्वपूर्ण विधेयक अघि बढ्न नसकेको र सानो सानो कुरामा संसद अवरुद्ध हुनु संसदीय अभ्यासका लागि खराब रहेको बताएका थिए।
विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडकमा आन्दोलन गरेका थिए। पछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग ६ बुँदे सहमति भएको छ।
तर आफूहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षक भने अहिले पनि आन्दोलनमै छन्। विधेयकमाथि शिक्षकहरुको आपत्ती रहेपछि कांग्रेसले सरोकारवालासंग छलफल गरेको हो।


