नवलपरासी (बर्दघाट सुस्तापश्चिम)- पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
विद्युतको खम्बामा जडान भएको बत्ती बल्दै गरेको देखेर निभाउन गएका व्यक्तिको मृत्यु भएको हो।
शुक्रबार बिहान ६ः०० बजेको समयमा रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए।
सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए।
करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो।
उनलाई अस्पतालका डाक्टरले उपचारका क्रममा ६ः४० बजे मृत्यु भएको घोषणा गरेको थियो।
यादवलाई करेन्ट लागेको स्थानमा वाइफाइ तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा रहेको स्थानीयको भनाइ छ।


