काठमाडौँ- आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति भएको छ। शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सहमति भएको हो।
वार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र राज्यमन्त्री प्रमिला कुमारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थिए।
नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष अधिकारीले ५ बुँदामा सहमति गरिएको बताए।
राहत शिक्षकलाई शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने गरी सहमति गरिएको छ। राहत शिक्षक स्थायी भएका खण्डमा अस्थायी सेवा अवधि पनि गणना गर्नेसमेत सहमति भएपछि राहत शिक्षक आन्दोलन स्थगित गरेर विद्यालय फर्कन राजी भएका हुन्। यो सहमतिबाट ४० हजार राहत शिक्षक लाभान्वित हुने बताइएको छ।
शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने भन्दै नेपाल शिक्षक महासंघको आह्वानमा असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौंमा आन्दोलन भएको थियो। महासंघसँग सरकारले ६ बुँदे सहमति गरेको थियो।


