काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाई इन्धनको भाउ बढाएको छ।
आइतबार बिहान एक बजेबाट लागू हुने गरी निगमले यी इन्धनको मूल्य बढाएको हो।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल-मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको हो।
खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर २१५ रूपैयाँ बढाएको छ।
हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा ८ रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ६० डलर बढाएको छ।
अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १८५ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल/मट्टीतेल १७९ रूपैयाँ पर्नेछ।
चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा क्रमश: १८२.५ र १७६.५ रुपैयाँ पर्नेछ।
सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ १८४ रूपैयाँ र डिजेल/मट्टीतेल १७८ रूपैयाँ पर्नेछ।
खाना पकाउने ग्यासको भाउ भने सबैतिर दुई हजार एक सय १० रूपैयाँ प्रतिसिलिन्डर पर्नेछ।



