काठमाडौं– महिला, बालकालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले ज्येष्ठ नागरिकसँग भएको ज्ञान, सिप र अनुभवलाई विकसित प्रविधि र विकासका आयामसँग जोड्न सकेमा आर्थिक विकासमा योगदान पुग्ने बताएका छन्।
३३औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले ज्येष्ठ नागरिकमा भएको ज्ञान उपयोग गर्न ज्ञान, सिप र अनुभवको पुस्तान्तरण गर्न अति आवश्यक रहेको उल्लेख गरे। ज्येष्ठ नागरिकको अथाह परिश्रम असीम लगानी र लगनशिलताले नै मानव सभ्यताको यो अवस्थामा ल्याइपुर्याएको स्पष्ट पारे।
मन्त्री आचार्यले ज्येष्ठ नागरिकहरु वर्तमान पुस्ताको बोझ नभई आत्मसम्मान र गौरवका धरोहर हुन् भन्ने मान्यतालाई आत्मसात् गरी मानव सभ्यतालाई अझ उन्नत बनाउनुपर्ने बताए। उनले ज्येष्ठ नागरिकमा हुने एक्लोपन हटाउन तथा तेस्रो पुस्तामा ज्येष्ठ नागरिकप्रति सम्मान जगाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने कार्यमा हातेमालो गर्न मन्त्रालय तयार रहेको बताए।
मन्त्री आचार्यले भने, ‘लामो अवधि कुनै न कुनै रुपमा सक्रिय रही अथाह ज्ञान आर्जन गर्नुभएका ज्येष्ठ नागरिक खुला पुस्तकको रुपमा नै हुनुहुन्छ। ज्येष्ठ नागरिकहरुमा देशलाई उन्नत बनाउन सक्ने आर्थिक सामाजिक र नीतिगत ज्ञानदेखि दैनिक जीवनका उपभोग्य सामग्री तयार गर्न व्यावहारिक ज्ञानको भण्डार रहेको छ। ज्येष्ठ नागरिकमा भएको यो ज्ञान उपयोग गर्न ज्ञान सिप र अनुभवको पुस्तान्तरण गर्न अति आवश्यक छ। यस विषयमा समेत ध्यान दिन जरुरी छ।’
मन्त्री आचार्यले ज्येष्ठ मन्त्रालयले ज्येष्ठ नागरिक नीति तयार गर्न गृहकार्य गरिरहेको बताए। उनले भने, ‘नागरिकको उपचारका लागि अस्पतालहरुमा छुट्टै उपचार वार्ड स्थापना अल्जाइमर्स रोग पहिचान भएपछि उपचारका लागि एकमुष्ट रकम उपलब्ध गराउने व्यवस्था लगायतका सुविधाहरु र ज्येष्ठ नागरिकको हित संरक्षण गर्न ज्येष्ठ नागरिक सम्बन्धि ऐन तथा नियमावलीको व्यवस्था गर्न लागेको छ।’


