काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको चर्को आलोचना गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार चरम अनुत्तरयादी र गैरजिम्मेवार देखिएको बताएका हुन्।
उनले सकारले संविधान दिवसका अवसरमा ज्यान मुद्दा लागेका व्यक्तिहरुलाई कैद माफी गरेकोमा आपत्ति जनाए।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गरेका थिए।
उनले खुँडाले काटेर मान्छे मार्नेलाई किन पुरस्कृत गरिन्छ? भनेर प्रश्न समेत गरे।
‘दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ। पीडित परिवार आतंकिंत छ। यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ,’ ओलीले भने।
सरकारको आलोचना गर्दा सुनिल शर्मा बनाइदिने भनेर सातो लिने गरेको बताएका छन्। उनले सरकारको आलोचना गरेबापत शर्मालाई हतकडी लगाइएको आरोप लगाए। यस्तै सरकारको आलोचना गरेकै भरमा सांसद अमरेशकुमार सिंहलाई पुर्जी काटिएको बताए।
‘सरकारको विरुद्धमा बोलेवापत अमरेशकुमार सिंहलाई पुर्जी कटाइएको छ। सम्पत्ति छानबिन गर्ने भन्या छ। कहिले सरकारमा ओहोदामा जानुभयो उहाँ,’ उनले भने, ‘यतिकै रिस उठ्यो भने जे पनि गरिदिने? सरकारको दुरुपयोग गर्ने? २०४६ साल हो कि कहिलेको सर्टिफिकेट कतिपल्ट हेरिसक्यो? कतिपल्ट चलिसक्यो त्यो? लेखेर पास गर्या कि चोरेर पास गर्या, छानबिन गर्ने रे!’
मुलुकमा सुशासन नभएको दाबी गरेका उनले सरकार विकास विरोधी देखिएको बताए। ‘वास्तवमा यो सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार देखिएको छ, स्वेच्छाचारी देखिउको छ। विकास विरोधी देखिएका छन्। चलिरहेका आयोजना रोकिएका छन्। काम सकेकालाई भुक्तानी दिइएको छैन,’ उनले भने।


