काठमाडौँ- सदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङलाई केन्द्रबिन्दु बनाएर मंगलबार दुई घण्टाको फरकमा नै ५ वटा ४ म्याग्निच्युडभन्दा ठूला भूकम्प गएका छन्।
बझाङ केन्द्रबिन्दु बनाएर सुरुमा मंगलबार दिउँसो २:४० बजेको समयमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यपछि ३:६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
यस्तै ३:४५ मा ४.१ म्याग्निच्युडको र ४:२८ मा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको तीन मिनेट पछि नै ४:३१ मा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ। यी ५ वटै भूकम्पको केन्द्र बिन्दु बझाङ जिल्ला नै परेको छ।

भूकम्पले बझाङका घर, विद्यालय ,सडक तथा भौतिक संरचनामा क्षति पुगेको हो।
भूकम्पको धक्का काठमाडौं तथा भारतको राजधानी दिल्लीसम्म महसुस गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीका अनुसार केही भौतिक संरचनाहरुमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। घाइतेहरूको विवरण प्राप्त हुने क्रम जारी छ।
भूकम्पका कारण पश्चिम नेपालमा कति क्षति भयो भन्ने पूर्ण विवरण आउन बाँकी छ।

बझाङ भूकम्पका प्रभावितलाई उद्धार र राहत उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माग गरेको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै रास्वपा सचेतक निशा डाँगीले बझाङ भूकम्प प्रभावितको उद्धार गर्न र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।


