काठमाडौँ– अमेरिकी अनुदानप्राप्त परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइट यतिबेला काठमाडौँमा छिन्।
पाँच दिने भ्रमणका लागि गत आइतबार काठमाडौँ उत्रेकी सीईओ अल्ब्राइट विभिन्न राजनीतिक दलको शीर्ष नेताहरुसँग भेटवार्तामा छिन्।
सोमबार उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरिसकेकी छन्। मंगलबार बिहान भने उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिन्।
उनको कार्यतालिकामा बाँकी शीर्ष नेताहरुसँगको भेटवार्ता पनि छ। एमसीसी सीईओको भ्रमणलाई नेपालले पनि सकारात्मक रुपमा हेरेको छ।
गत २०८० भदौ १३ बाट औपचारिक रुपमा दिनगन्ती सुरु भई कार्यान्वयनमा गएको एमसीसीका विषयमा शिर्ष तहमा छलफल गर्न उनी नेपाल आएको बताइएको छ।
कतिपयले भने परियोजनाको प्रगति विवरण बुझ्न र ‘सेलिब्रेसन’ गर्न सीईओ नेपाल आएको टिप्पणी पनि गर्ने गरेका छन्।
एमसीसी परियोजना कार्यान्वयनका लागि अर्थमन्त्रालयले एमसीए नेपाल खडा गरेको छ। त्यसका एक अधिकारीका अनुसार अमेरिकी पक्षबाट भएको यो नियमित भ्रमण मात्र हो।
‘एमसीसी कार्यान्वयनमा गएपछि उहाँ नियमित भ्रमणकै सिलसिलामा आउनुभएको हो,’ ती अधिकारीले भने।
नेपाल अमेरिकाबीचको द्विपक्षीय साझेदारी मनाउन र एमसीसी सम्झौताको सफल सुरुवातको उपलक्ष्यमा सीईओ नेपाल आएको काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।

एमाले अध्यक्ष ओलीसँग भेट गर्दै एसीसी सीईओ अल्ब्राइट। तस्बिर : ओलीको सचिवालय
अल्ब्राइट नेपाल आएपछि आगामी बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरु, सचिवहरु र नेपाल सरकारका उच्च अधिकारीहरुसहित ‘सेलिब्रेसन पार्टी’ पनि आयोजना गरिएको छ।
एमसीसी परियोजना सुरुवात भएसँगै अमेरिकी प्रतिनिधि र एमसीसीका पदाधिकारीको चासो बढ्दो छ। अर्थात, यस परियोजनालाई अमेरिकाले महत्वका साथ हेरेको छ।
नेपालले एमसीसी सम्झौता कार्यान्वयनका लागि न्यूनतम सर्त समेत पूरा गर्न सकेको छैन। ५ वर्षभित्र एमसीसी परियोजनाअन्तर्गत गर्नुपर्ने काम सम्पन्न गर्नैपर्छ। अन्यथा, अमेरिकी अनुदान रकम फिर्ता जाने सम्झौतामा उल्लेख छ।
तर, एमसीसी सम्झौताका पूर्व ६ वटा सर्तमध्ये ५ वटा पूरा भए पनि महत्वपूर्ण एउटा सर्त भने पूरा हुन सकेको छैन। जग्गा अधिग्रहण (पहुँच र वनक्षेत्रको प्रयोग गर्ने अधिकार प्राप्त गर्नुपर्ने) को सर्त पूरा हुन नहुँदै परियोजना कार्यान्वयनमा गएको छ।
एमसीसी सीईओ नेपाल आएपछि नेपाली पक्षले पूरा गर्न पर्ने सर्त र कामको टुंगो लगाउन दबाब सिर्जना हुने नेपाली पक्षको बुजाइ छ।
एमसीसी प्रतिनिधि को–को आए नेपाल ?
एमसीसी सम्झौता कार्यान्वयनमा जाने अघिल्लो दिन अर्थात भदौ १२ गते एमसीसीका उपाध्यक्ष क्यामरुन एस.एलफोर्ड नेपाल आएका थिए।
भदौ १३ गते अर्थ मन्त्रालय अर्थमन्त्री डा. प्रकाशरण महत र उपाध्यक्ष क्यामरुनले संयुक्त रुपमा नेपाल र अमेरिकाबीच ‘लेटर अफ एक्सचेन्ज’ मार्फत एमसीसी कार्यान्वयनको घोषणा गरेका थिए।
यसअघि एमसीसी पास गर्ने/नगर्ने भन्ने बहस चर्किइरहेका बेला २०७८ भदौ २२ गते एमसीसी उपाध्यक्ष फातिमा जेड सुमार नेपाल आएकी थिइन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका शिर्ष नेतासँग भेटवार्ता गरेकी थिइन्।
फातिमा २०७४ साउनमा पनि शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा पनि आएकी थिइन् ।
नेपालको दायित्व थपियो
यसअघि २०७८ फागुन १५ मा प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणासहित पारित भएको एमसीसीमा नेपालको दायित्व भने थपिएको छ।
सुरुआती सम्झौतामा एमसिसी परियोजनाका लागि कुल ६३ करोड अमेरिकी डलर बराबर लागत अनुमान गरिएको थियो। जसमध्ये ५० करोड अमेरिकी डलर एमसिसी अनुदान र १३ करोड अमेरिकी डलर नेपाल सरकारले बेहोर्ने कम्प्याक्टमा उल्लेख छ।
गत जेठ ९ गतेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल र एमसिसीबीच सम्पन्न सम्झौता संशोधन गरी नेपाल सरकारको योगदान वृद्धि गर्न स्वीकृति दिने’ निर्णय गरेको छ।
मन्त्रिपरिषद्को उक्त निर्णयपछि नेपाल सरकारले व्यहोर्ने दायित्व ६ करोड ७० लाख अमेरिकी डलर थप भई १९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ।
यसरी समग्र परियोजनामा हुने खर्चको अनुमानसमेत ६३ करोड अमेरिकी डलरबाट बढेर ६९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ।



