काठमाडौ- आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
मनसुन विदाइमा ढिलाइ हुँदा काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा केही दिनदेखि झरी परेको थियो।
जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने जानकारी गराएको छ ।
‘तर पनि हिजो र अस्तिको जस्तो लगातार झरी हुन्न, केही समय पानी पर्ने र केही समय घाम पनि लाग्ने हुन्छ, पूर्वमा मात्रै अलिकति बाँकी छ, अब भोलिदेखि भारी वर्षा भने हुन्न’, उनले भने।
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।


