पोखरा- गण्डकी प्रदेशले आफ्नो मातहतका १२ जिल्ला अस्पतालका बेड बिरामीका लागि निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ।
यसअघि निःशुल्क रगत दिने निर्णय गरेको प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले यो वर्षबाट निःशुल्क जनरल बेड पनि उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याउने भएको हो।
गण्डकी प्रदेश अन्तर्गत हाल १२ वटा जिल्ला अस्पताल छन्। प्रदेशका ११ जिल्लामा रहेका प्रदेश मातहतका अस्पतालमा भर्ना भएर जनरल वार्डमा उपचार गराउने बिरामीका लागि शय्याशुल्क तिर्न नपर्ने भएको गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले बताइन्।
गण्डकी प्रदेशका नागरिकलाई आधारभूतदेखि विशेषज्ञ सेवा समेतमा सरल पहुँच बनाउने काममा मन्त्रालय लागिपरेको उनको भनाइ छ। कमजोर आर्थिक अवस्थाका कारण उपचार नपाउने अवस्थालाई अन्त्य गर्न प्रदेश सरकारले प्रयास गरिरहेको उनको भनाइ थियो।
प्रदेशका १८ वटा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम, डिजिटल स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा तथा सुत्केरी सेवा जस्ता काम निरन्तर भइरहेको छ।


