काठमाडौँ– सरकारले इजरायलबाट फर्कन चाहने नेपालीहरुलाई स्वदेश ल्याउने भएको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम समेत बनाएर भर्नका लागि आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेसन थालिएको मन्त्रालयले जानकारी दिएको छ।
यसअघि परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै इजरायलबाट स्वदेश फर्कन ईच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको तयारी भइरहेको बताएको थियो। परराष्ट्रमन्त्रीको सचिवालयले अनलाइन रजिस्ट्रेसनका लागि फारम विकास गरिसकिएको जानकारी दिएको हो। हाल भइरहेको स्थानमा असुरक्षित भएको तर इजरायलकै अन्य स्थानमा सर्न चाहनेका लागि उद्धार गरिने मन्त्रालयको भनाइ छ।
तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरणहरु उपलब्ध गराइएकोले उनीहरु मार्फतआवश्यक जानकारी लिन र सम्पर्कमा रहन मन्त्रालयले अनुरोध गरेको छ।
इजरायलको गाजा क्षेत्रमा हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले त्यहाँका नेपालीलाई उद्धार गर्ने काम सुरु गर्न लागेको हो। ज्यान गुमाएका नेपालीको शव ल्याउने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ।
‘पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकहरुले ज्यान गुमाएका, एक जना सम्पर्क विहिन रहेका र केही घाईते अवस्थामा रहेका पुष्टि भएको छ। मृतकहरुको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको छ’ विज्ञप्तिमा भनिएको छ,’मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाईतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भईसकेको छ।’
इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बसेको बैठकले परराष्ट्रमन्त्रीको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन गरेको छ। उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकहरुको संरक्षण र उद्दार गर्न आवश्यक पहल गरिरहेको छ।
‘यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको छ।द्वन्दग्रस्त क्षेत्रबाट नेपालीहरुको यथाशिघ्र उद्दार गर्न नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको छ’ मन्त्रालयले भनेको छ।
इजरायलमा रहेका नेपालीले यहाँ क्लिक गरी फारम भर्न सक्नेछन्।


