काठमाडौँ- इजरायलमा रहेका नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै उद्धारको पहल गरिदिन आग्रह गरेका छन्।
प्रधानमन्त्रीलाई लेखेको पत्रमा आफूहरु अत्यन्तै त्रासमा बाँचिरहेको उल्लेख छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक अन्तिम सेमेस्टरका विद्यार्थी सुरज भण्डारीले प्रधानमन्त्रीलाई उद्धारको याचना गर्दै पत्र लेखेका हुन्।
यस्तो छ भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्र
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिने लागेका विध्यार्थीहरू (११४) जना अहिले हामी इजरायल र हमासको इन्दको चपेटामा फसेका छौँ।
११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गइराखेको छ। हाम्रो आत्माबल घट्टै गइराखेको छ, हामी मानसिक तनावमा पुग्न आटिसकेका छौं अब धेरै सोच्ने परिस्थिति पनि बाँकी रहेन।
आकाशमा चरा उडेको देखेको हामी, आज मिसाइल र फाइटर प्लेन देख्नुपरेको छ। तिहारमा पटका खुशिका साथ रमाउदै हेरेका हामी आज आफू अगाडि बन्दुक पड्किराखेको देखेर त्रसित छौँ। बंकरमा लुक्यो भने बंकर भित्र नै छिरेर आक्रमण भइराखेको छ।
हामी हाम्रा सुदुरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले छाती चिरिएको छ। हामी स्तब्ध छौँ, हमलामा पर्यो भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन। लुकेर बसेका हामीहरू खाना र पानीको समस्यामा जुध्नुपरेको छ। नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने बाहिर शौचालय जान डर लाग्छ। आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर भइराखेको छ।
विभिन्न देशको समर्थनले गर्दा युद्ध यत्तिकै रोकिने अवस्था पनि छैन। यो युद्ध लामो छ। हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ।
आदरणीय प्रधानमन्त्रीज्यू, अबको हाम्रो आशा पनि तपाईँ नै हो, भरोसा पनि तपाईँ नै हो। यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस हामी देशमा नै रमाउनेछौँ।
हामी नेपालको ‘३’ विश्वविद्यालयबाट यहाँ छौ।
१) कृषि तथा वन विज्ञान विश्वविद्यालय
२) त्रिभुवन विश्वविद्यालय
३) सुदुरपश्चिम विश्वविद्यालय
सँगसँगै यहाँ अन्य विद्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ, छिटो भन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीको प्रत्याभुति तपाईंले अवश्य गराउनुहनेछ। यो हाम्रो तपाईप्रतिको विश्वास हो, यही विश्वासमा नै हाम्रो सास अडिएको छ।
(युद्धको चपेटामा परेको नेपाली)
सुरज भण्डारी
कृषि तथा वन विज्ञान विश्वविद्यालय
(हाल ठेगाना)
+९७२५१२८२५१६६
(नेपाली ठेगाना)
-अन्नपूर्ण गा.पा – २ कास्की)


