काठमाडौँ- इजरायलमा रहेका नेपालीहरुलाई लिनका लागि नेपाल एयरलाइन्स इजरायल जाने भएको छ।
बुधबार राति ११ बजे नेपालबाट दुबई ट्रान्जिट भएर नेपाल एयरलाइन्स इजरालयको तेलअबिब जान लागेको हो।
‘इजरायलका नेपाली लिनका लागि नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्छ,’ परराष्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको सेड्युल फ्लाइट दुबईका लागि रहेको र त्यहीँबाट इजरायल जाने तयारी नेपाल एयरलाइन्सले गरेको बताए।
‘नेपाल एयरलाइन्सको सेड्युल फ्लाइट राती ११ बजे छ। दुबईका यात्रु लिएर एयरलाइन्स जान्छ,’ उनले भने, ‘त्यहीँबाट जहाज इजरायल जाने तयारीमा छ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सम्बन्धित देशको आकाश प्रयोग गर्न अनुमति पाइसकेको छ।’
उनका अनुसार जहाजले इजरायलबाट नेपालीहरू लिएर दुबई आउनेछ। दुबईबाट काठमाडौँ फर्कने तयारी रहेको उनले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किराँतीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर जहाज पठाउने विषयमा छलफल गरेका थिए।
नेपाल फर्कन चाहने नेपालीको लगत संकलन परराष्ट्र मन्त्रालयार्फत् भइरहेको छ। तर केकति जनालाई नेपाल फर्काइने भन्ने प्रष्ट भइसकेको छैन।
शनिबार (असोज २०) मा प्यालेष्टिनी विद्रोही समूह हमास इजरायलका विभिन्न स्थानमा रकेट सहित आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु हुनुको साथै ४ जना घाइते भएका थिए। यस्तै, विद्रोही समूहको आक्रमणबाट एक नेपाली बेपत्ता छन्।
सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययन गर्ने ४९ विद्यार्थी हमासले गरेको आक्रमण क्षेत्रमा फसेका थिए। जसमध्ये ३२ जनालाई इजरायली सेनाले उद्धार गरेर तेल अबिबमा राखेको छ।
उद्धारमा परेकाहरुले अझै युद्ध जारी रहेकोले नेपाल फर्काउन सहयोग मागिरहेका छन्।
युद्ध चर्कने खतरा बढेपछि सरकारले इजरायलमा अध्ययन र कामका पुगेका नेपालीलाई नेपाल फर्काउन जहाज पठाउन लागेको हो।


