काठमाडौँ- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १७७ जना चिकित्सकले सामूहिक राजीनामा बुझाएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री मोहनबहादुर बस्नेतसँग भेट गरी उनीहरूले राजीनामा बुझाएका हुन्।
बढुवा रोकिएको भन्दै उनीहरू आन्दोलित थिए। बीपीका चिकित्सकसहित मेडिकल क्षेत्रका कर्मचारीहरुको ७ वर्षदेखि बढुवा रोकिएको छ।
यस्तै मेडिकलबाहेकका कर्मचारीको बढुवा १५ वर्षयता हुन सकेको छैन।
यसअघि चिकित्सकहरुले गत मंगलबार प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको भन्दै स्वास्थ्यमन्त्री बस्नेतलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए।
बुधबारसम्म पनि समाधानको उपाय नसुल्झिएपछि सामूहिक राजीनामा आएको हो।
चिकित्सकहरुले दरबन्दी खाली भएको, ५० भन्दा बढी दक्ष चिकित्सकहरुले प्रतिष्ठान छाडेको, विभिन्न विभागमा प्रोफेसर तहका चिकित्सक अभाव भएको र प्रतिष्ठानको पठनपाठनमा असर परेको भन्दै समाधान खोज्न मन्त्री बस्नेतलाई आग्रह गरेका थिए।


